Logo

अर्थ

साउनबाट नागरिक स्टक डिलर कम्पनी सञ्चालनमा आउने



नेपालको पहिलो स्टक डिलर कम्पनीको रूपमा रहेको नागरिक स्टक डिलर कम्पनी साउनको दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । नागरिक लगानी कोषको सहायक कम्पनीको रूपमा गत माघमा स्थापना भएको यो कम्पनीले साउनको दोस्रो हप्तादेखि शेयरबजार प्रवेश गर्ने तयारी अगाडि बढाएको हो ।

कम्पनीले बिहीवार मात्र १५ दिनको म्याद दिँदै प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवदेन खुला गरेको छ । सीईओ र आवश्यक कर्मचारी नियुक्त गरी शेयरबजारमा प्रवेश गरिने नागरिक लगानी कोषले जानकारि दिएको छ ।

‘सञ्चालनका लागि अहिले लगानीकर्ता संस्थाहरूको कर्मचारीमार्फत नै आवश्यक काम भइरहेको छ । सकेसम्म साउनको पहिलो साता नै शेयरबजारमा प्रवेश गर्ने र नभए दोस्रो सातादेखि कम्पनीलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने कुरा भइरहेको छ ।

स्टक डिलर कम्पनीले खास गरी बजार निर्माताको काम गर्ने गर्छ । शेयरबजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्ने, विक्री नभएको शेयर किन्नेजस्ता काम पनि स्टक डिलर कम्पनीमार्फत हुन्छ । नेपालमा यसअघि स्टक डिलर कम्पनी थिएन ।

कुल चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको यस कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत शेयर स्वामित्व छ भने नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । बाँकी रहेको ३० प्रतिशत शेयर भने सर्वसाधारणमार्फत उठाइनेछ ।
यस कम्पनीले २ बर्ष भित्र नै सर्वसाधारणको लागी आइपीओ निष्काशन गर्ने कम्पनीको भनाई रहेको छ । कम्पनीले लगभग रू. १ अर्ब ५० करोड बराबरको शेयर ल्याउनेछ । नागरिक लगानी कोषले यसअघि पनि स्टक डिलरकै रूपमा शेयरबजारमा लगानी तथा कारोबार गर्दै आएको छ ।

तर, नीतिगत व्यवस्था नहुँदा त्यो प्रभावकारी हुन सकेको थिएन । अहिले स्टक डिलर कम्पनी नै खोलिएपछि कोषले गर्ने शेयर कारोबार थप प्रभावकारी हुने लगानीकर्ताहरुको बुझाई रहको छ ।

नेपाल धितोपत्र बोर्डले गत माघमा ‘धितोपत्र व्यवसायी (दलाल, व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४’ संशोधन गर्दै वाणिज्य बैंक, नागरिक लगानी कोष, सञ्चय कोष जस्ता विशेष ऐनद्वारा स्थापित कम्पनीलाई स्टक डिलरको काम गर्न बाटो खुला गरिदिएको थियो । त्यसपछि कोषले स्टक डिलरको काम गर्न यो कम्पनी स्थापना गरेको हो ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार ११:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।