कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम निकालेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ रुबी भ्याली गाउँपालिका २ घर भई काठमाडौं तारकेश्वर बस्ने ३६ वर्षीय सौजन तामाङ छन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गएराति जावलाखेलबाट पक्राउ गरेको हो ।
बैंकको मुख्य कार्यालय र शाखा कार्यालय न्यूरोडको वित्तीय प्रणाली ह्याक गरी विभिन्न व्यक्तिहरुको खातामा रकमान्तर गरी तामाङसहितको समूहले भुक्तानी लिएका थिए ।
पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौं पेश गरिएको महाशाखाले जनाएको छ । गत असोज ७ गते न्यूरोड शाखाबाट सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रकमान्तर भएकोमा ९ लाख ५० हजार भुक्तानी भएको थियो । बाँकी रकममध्ये श्रवनकुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश भएको थियो ।
यसमै शंका लागेर सिस्टम चेक गर्दा एउटा समूहले बैंकको मौज्दातबाट विभिन्न मितिमा सिस्टम ह्याक गरी ४ करोड ८८ लाख ४६ हजार रकमान्तर गरी भुक्तानी लिएको खुलेको थियो । यही घटनामा महाशाखाले यसअघि श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जालाई पक्राउ गरिसकेको थियो भने सौजन भने फरार रहेका थिए ।





















प्रतिक्रिया