Logo

अर्थ

कटेजमा ताल्चा, बैंकमा ऋणः तनावमा पर्यटन व्यवसायी



झापा, कन्काई नगरपालिकाका डिपी आचार्य अहिले तनावमा छन । इलामको सूर्योदय नगरपालिकास्थित अन्तुमा सञ्चालन गरेको कटेज बन्दाबन्दीको समयमा बन्द गर्नु परेपछि उनले तनावमा पर्नुभएको हो । दुई वर्षअघि आचार्यले साहु र बैंकको ऋण लिएर भाडामा लिई अन्तुमा कटेज खोल्नुभएको थियो तर अहिले त्यो कटेज बन्दाबन्दी शुरु भएदेखि नै बन्द छ । कटेज बन्द भए पनि कटेजको लिज भाडा, बैंकको ऋण र साहुको पुरानो रकमले यतिबेला आचार्यको मन पोल्छ ।

“दुई वर्षअघि मात्र लिजमा लिएको, कमाइ पनि राम्रै थियो”, आचार्य भने, “अब अहिले त के गर्ने न कसो गर्ने भइयो । लकडाउनको समयमा पनि भाडा त लागेको छ । कसरी तिर्ने रु” रु १५ लाख लगानी गरेर आचार्यसहित दुई जनाले कटेल सञ्चालन गर्नुभएको थियो । “लकडाउनले गर्दा कटेज त खोल्नै पाएको छैन । साहुले केही महिनाको भाडा छुट दिए भनेचाहिँ चलाउन सकिन्छ”, आचार्यले भने ।

बीस जना क्षमता भएको कटेज चलाउनुभएका आचार्यले यो सिजनमा विगतका वर्षमा मासिक खर्च कटाएर रु ९० हजारसम्म बचाउ थिए। अहिले कटेज नै बन्द भएपछि दैनिकी चलाउनसमेत सकस पर्दै गएको उनले बताु्ए । भ्रमण वर्षको समयमा उल्लेख्य फाइदा लिने सोच बनाउँदै गर्दा कोरोनाको समस्याले आजित बनाएको आचार्यको भनाइ छ ।

दैनिक ४०० हाराहारीमा पर्यटक भित्रिने अन्तुमा पर्यटन व्यवसाय नै ठप्प हुँदा नसोचेको घाटा व्यहोर्नुपरेको घरवास (होमस्टे) सञ्चालक धनबहादुर आले बताएका छन् । आलेका अनुसार सिजनकै समयमा बन्द गर्नुपर्दा व्यवसायीले ऋणको चर्को ब्याजदर सामना गर्नुपर्दैछ भने पर्यटकीय क्षेत्र पहिलेकै स्तरमा पु¥याउनसमेत समस्या पर्ने भएको छ । मुलुककै प्रमुख पर्यटकीय क्षेत्र श्रीअन्तु सुनसान बनेपछि व्यवसायीले खुलाउन पहल गर्दै आएका छन् । महामारीमा होमस्टे र कटेज खोल्दा पर्यटक आए पनि जोखिम बढाउने भएकाले व्यवसायी अन्योलमा परेका हुन् । कटेज खोल्दा महामारी फैलिएमा आफैँले जिम्मा लिनुपर्ने भएकाले पनि खोल्न नसकिएको अन्तु पर्यटन व्यवसायी सङ्घका सचिव रुद्र घिमिरे बताए।

घरवासमा चहलपहल शून्य भएपछि यतिबेला अन्तुका घरवासमा रुँगालो मात्र राख्न थालिएको छ । होटलका कर्मचारीसमेत घर पठाएपछि घरवास सुनसान हुने गरेको सचिव घिमिरे बताए । “कोही इलामका त कोही भारतकै पनि कर्मचारी राखिएको थियो तर अहिले सबै घर गइसके”, घिमिरेले भने, “सधैँ बाक्लो चहलपहल भइरहने यो क्षेत्रमा अहिले सुनसान छ ।”

उनले घरवास सञ्चालन गर्न पहल भए पनि महामारी फैलिएमा अझै समस्या आउने भएकाले खोल्न नसकिएको बताए । धेरैजसो पर्यटक गर्मी छल्नका लागि अन्तु आउने गर्दथे तर गर्मीकै सिजनमा बन्द भइदिँदा व्यवसायीलाई धेरै नोक्सान भएको घिमिरेको भनाइ छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलवार १५:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।