Logo

पत्रपत्रिका

राष्ट्रपतिलाई यस्तो चिन्ता, माधव नेपाललाई बोलाएर के भनिन् ?



अघिल्लो साता शीतलनिवासबाट एकाएक नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलावट भयो । पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बखत आएको खबरलाई मध्यनजर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न नेपाल कोटेश्वरबाट महाराजगञ्जतिर हुईंकिए ।

राष्ट्रपतिले भनिन्, ‘तपाईंलाई मध्यस्थकर्ताको रूपमा सबैले निपुण ठान्छन् । अहिले पार्टीमा देखिएको अन्तरविरोध समाधानमा पनि त्यहीअनुसार गरिदिनुपर्‍यो ।’ नेपाल केही नबोली सुनिरहे तर राष्ट्रपतिले थपिन्, ‘मैलेभन्दा बढी तपाईंले नै संगत गर्नुभएको र चिन्नुभएको मान्छे हो उहाँ (केपी ओलीप्रति इंगित गर्दै) । मैले पनि एकदिन यहाँबाट छाडेर जानैपर्छ ।’

त्यसपछि राष्ट्रपतिले निर्वाचनताकाको क्षण स्मरण गर्दै भनिन्, ‘तपाईंहरूले नै मलाई यो पदमा ल्याउनुभएको हो । भोलि फेरि अर्को कसैलाई पठाउनुपर्ला । त्यो अवस्थामा मैले पनि नयाँ व्यक्तिलाई राम्रोसँग हस्तान्तरण गर्न सकिनँ भने अलि मज्जा हुने छैन ।

मलाई नेकपाले एकताबद्ध हुँदै जिताएर यहाँ पठाएको हो । त्यसैगरी पार्टी एक बनिरहोस् र हिजोजस्तै भोलि पनि एक भएर नेकपाकै अर्को मान्छेलाई यहाँ पठाओस् भन्ने मेरो चाहना हो ।’

नेपाललाई यो पनि भनियो, ‘पार्टी फुट्यो भने राष्ट्रपति पदसमेत आगामी दिनमा अर्को पार्टीका मान्छेको हातमा जान्छ । अरुले सहजै खेल्ने मौका पाउँछन् । हिजो जस्तै भोलि पनि नेकपाले छानेको र चुनेको मान्छेलाई नै हस्तान्तरण गर्न सकुँ । पार्टीमा टुटफुट नआओस्, यही हो मेरो चाहना ।’ जनआस्था साप्ताहिकबाट

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार १०:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।