निर्वस्त्र उनीहरुलाई देखेर
न, त हाँस्नै सकियो
न, त रुँनै सकियो
न, त घृणाले छुँनै सकियो ।
**************************
भर मागे, भर दियौं
बनाउँछौं भने घर दियौं
चुहिएको छानो फाल्छौं भने
चर्किएका भित्ता टाल्छौं भने
जगै नयाँ हाल्छौं भने
सम्बृद्धिको आगो बाल्छौं भने
हामी हौसियौ पनि
रौसियौ पनि
त्यसैले हजुर पनि बनायौं
गजुर पनि बनायौं
विजयोत्सव धुमधामले मनायौं ।
****************************
केही थान फर्किन नजान्नेहरुले
केही थान पर्खिन नजान्नेहरुले
सँगै उभिएको घोषणा गरे
घर थाल्छौं भनेर कस्सिए
भित्तो टाल्छौं भनेर कस्सिए
फोहोर सबै फाल्छौं भनेर कस्सिए
केबल खुसी पाल्छौं भनेर कस्सिए
प्रफुल्ल त हामी छँदै थियौं
मागेको जति कर दियौं
खोजेकै जति भर दियौं
उनीहरु व्यस्त भए
उनीहरु मस्त भए
खनाउने र बनाउने भन्दा
बन्ने र गन्नेतिर लागे
पर राखिएको कुर्सी बिर्सिएनन्
लिगलिगे परेड सुरु भएपछि
जित्ने जिताउने यात्रा चल्यो
ढाल्ने ढलाउने जात्रा चल्यो
हौसिएकाहरुले फर्किनुपर्ने ठानेनन्
जोसिएकाहरुले पर्खिनुपर्ने ठानेनन्
आगो झोसेर ताली पिट्नेहरुले
घर जलेको पत्तै पाएनन् ।
********************************
यतिबेला, अँगार र खरानीको
विरक्त थुप्रोमा
हामी हाम्रा विपनाहरु खोजिरहेछौं
हामी हाम्रा सपनाहरु सोधिरहेछौं ।
********************************
निर्वस्त्र उनीहरुलाई देखेर
न, त हाँस्न सक्छौं
न, त रुँन सक्छौं
न, त सहानुभूतिले छुन सक्छौं
ऐतिहासिक कलङ्कको दाग
न त कसैगरी धुँन सक्छौं ।
७ पुष २०७७, मंगलवार ११:२८
0
Shares
















प्रतिक्रिया