मलाई हिजो पढाउनु
पर्छ सबैले भन्थे
कापी र किताब झोलामा राखेर गन्थे
पढ्न स्कुल म पनि गएको
कुनै दिन विद्यार्थी म पनि भएको
पढ्दा उसले के भेट्यो
नपढ्दा मैले यही भेटें
उसले समय चिन्यो
मैले मान्छे चिनेँ
पढेर के भएको छ र ?
पढेर को ठूलो राजा भएको छ र
पढे नपढेका मूर्खहरुले भने ।
पढ्नुपर्छ है विद्वान्हरुले भने
तर मलाई पढ्नै मन लागेन
ठूलो मान्छे बन्नै मन लागेन ।
शिक्षा जीवनमा अपरिहार्य छ
शिक्षले ठूलो काम गर्छ ।
कालमे धेरै शिक्षा दिन्छ ।
यहाँ त जानी नजानी
धेरैले शिक्षाको परिभाषा बताए
कहिले दिनरात कखरा रटाए ।
यसरी मलाई धेरै सताए ।
पढेन भनी ठूलै मान्छे पनि रिसाए
तर मलाई पढ्नै मन लागेन
ठूलो मान्छे बन्नै मन लागेन ।
शिक्षा जीवनको मेरुदण्ड हो
मैले सुनेको थिएँ
शिक्षा ज्ञानको ज्योति हो
मैले पनि बलेको देखेको थिएँ
विद्या सत्य र विनयको भूषण हो
मैले नारा लगाएको थिएँ
विद्वान् बनाउने विद्या नै हो
विद्या बह्र्माण्डको ऐना हो
तर मलाई पढ्नै मन लागेन
ठूलो मान्छे बन्नै मन लागेन ।
यहाँ त पढ्दै जाँदा
शिक्षाको इजाजत पण्डितजीहरुको बगलीमा भेटें
शिक्षाको नाउँ हाल्ने ठाउँ चाहिँ गरिब दुःखीको बगलीमा भेटें ।
तर कसले पुर्याइदिन्छ त्यहाँ
संसारको यथार्थ शिक्षा
भन्छन् भन्नलाई शिक्षा र राष्ट्र युवाहरुको काँधमा छ
तर मैले देखेको यहाँको शिक्षा आज
खहरे एकोहोरिएको दोभानको घट्ट चलाउने बाँधमा छ
शिक्षा मूर्ख र विद्वान् छुट्ट्याउने साँधमा छ
मलाई यी कसैलाई छुट्ट्याउनै मन लागेन
तर मलाई पढ्नै मन लागेन
ठूलो मान्छे बन्नै मन लागेन ।
विद्वान् महापुरुषहरुले
किताबका ठेलीहरु लेखेको
मैले पनि अरुले पल्टाएको देखेको
त्यसभित्रको संसारचाहिँ मैले अहिले भेटेको
त्यसभित्रको पच्चीसै दशकअघिका
विदेशी लवजको सार थियो
धेरै यात्रामा अघि बढ्दै जाँदा
युग परिवर्तनका लागि यो शिक्षा अति नै भार थियो
मलाई यस्तो भार थेग्नै मन लागेन
तर मलाई पढ्नै मन लागेन ठूलो
मान्छे बन्नै मन लागेन
तैपनि शिक्षामा आशाका बाटाहरु धेरै बनेको
मूल बाटो छैन अझै भेटिएको
धेरै समयसम्म शिक्षामा परिवर्तन खोज्दा
आलै भेटियो विद्याको गर्धन रेटिएको ।
उही पुरानै पण्डितको मात्रै खिलमा
नयाँ शिक्षा पद्धति र पाठ्यक्रम प्रणाली लेखिएको ।
पर्दाले जति छेके पनि परैबाट छ्याङ्ग देखिएको
मलाई छेकेर देखाइएको हेर्न मन लागेन
किन किन पढ्ने मन लागेन
ठूलो मान्छे बन्नै मन लागेन ।
यो त ल हेर पढेका छन्
भनेर देखाउने तिलस्मी हो
यहाँ अशिक्षा छैन क्या भनेर सुनाउने बकबकी हो
आहारको नाउँमा यो बासी खिचडी हो
शिक्षाको नाउँमा जञ्जाली षड्यन्त्र हो
यो त विकास र परिवर्तनको नाउँमा झिराइएको मुकुण्डो हो
मलाई यो नाटक हेर्नै मन लागेन
मलाई पढ्नै मन लागेन
ठूलो मान्छे बन्नै मन लागेन ।
हुन त यही शिक्षाबाट सेवा गर्ने नामी डाक्टर भएका छन्
सिपालु इन्जिनियर भएका छन्
कति विद्यार्थी ज्ञान, सीप र अभावमा पनि परिरहेका छन्
यसैले कतिको भाग्य र फुटेको कर्म समाएको छ ।
भनेर सारा दुनिया यही घोकाउमा रमाएको छ
धेरै पढ्ने ज्ञान भएकाहरु अँध्यारोमै
विद्यावान, सज्जन र महान पनि छन्
विद्वता र महानताका लागि बधाई छ है
ठूला मान्छे हो
तर मलाई पढ्नै मन लागेन
ठूलो मान्छे बन्नै मन लागेन ।
तीन दशक अध्ययन गरेर पनि
आत्मनिर्भर सीप मात्रै पनि नभएपछि
पाँचौं पीएचडी गर्नेहरुको पनि
कथा बेग्लै तर व्यथा एउटै भएपछि
महा विद्वान्, महामूर्ख र चोर डाकुको
संगत गर्दा केही फरक नपरेपछि
आफ्नै शिक्षा देखेर पढ्ने दङ्ग परेपछि
दुष्ट सैतानी प्रवृत्ति मनभित्र सरेपछि
अधिकार र मपाइत्वमा सज्जनको चरित्र मरेपछि
मलाई सज्जन बन्नै मन लागेन
मलाई पढ्नै मन लागेन
ठूलो मान्छे बन्नै मन लागेन ।
भन्नेहरु त भनिरहन्छन् यहाँ
शिक्षा राष्ट्र विकासको प्रमुख अंग हो
ढाड भाँचेर छोडिदिएपछि
शिक्षा नै कलाकारिताको महान विन्दु हो अरे
त्यस्ता कथन रटाएर मात्र बसेपछि
पढ्नेहरुको बुद्धिको भाँडामा पैसाको भाइरस पसेपछि
जति करोडौं पढेर पठाए पनि
व्यवहार अर्को गरेपछि
देश र जनताको पसिना खान
ठूलाबडा देशमैं मरेपछि
पढेर उभो लाग्ने बाटो खोज्दा
झन् झन् तल झरेपछि
मलाई माथि जानै मन लागेन
मलाई पढ्नै मन लागेन
ठूलो मान्छे बन्नै मन लागेन ।
विज्ञान पढेर परिभाषा मात्र कण्ठ गर्नु परेपछि
भाषा पढेर बोल्न नजानेपछि
गणित पढेर समय र स्थान नचिनेपछि
स्वास्थ्य पढ्दापढ्दै महामारी लागेपछि
अर्थ पढ्दापढ्दै व्यवहार बिग्रेपछि
नैतिकता पढ्ने चरित्रहीन भएपछि
शास्त्र पढेर कुरा नबुझेपछि
यो सबै पढ्ने नै पढ्नेहरुको दरिद्रता देखेर
मलाई पढ्नै मन लागेन ।
आफैले देखेको शिक्षालय जानै मन लागेन
मलाई पूँजीवादको गुलामी गर्न मन लागेन
देश हेर्दै जाँदा त धनी र गरिबको
शिक्षा परिपाटी नै छुट्टाछुट्टै
मलाई यस्तो समानताको नाउँमा
छुट्ट्याउनै मन लागेन
मलाई विद्यालय जानै मन लागेन
ठूलो मान्छे बन्नै मन लागेन ।
उच्च शिक्षाका कुरा धेरै पढ्नेहरुले पनि बताए
मार्कसिट र प्रमाणपत्रलाई मैले पनि समाएँ
पढाइ, अध्ययन र शिक्षाका नाउँमा
किन यो कम्पनीको जस्तो अवैध, भ्रामक र नक्कली व्यवसाय ?
धिक्कार होला हे शिक्षा अब पनि आफ्नो कर्म नबनाए
यस्तै यस्तै यथार्थको प्रकरणभित्र
पीडा छ हजुर पीडा
देश कसरी गयो
शेष कसरी भयो
त्यो त आफू नपढेको मान्छे
मलाई किन किन पढ्दै मन लागेन
मलाई ठूलो मान्छे बन्नै मन लागेन ।
(लेखक : युवराज सुवेदी युबा लेखक तथा अनुसंधानकर्ता हुन्)





















प्रतिक्रिया