Logo

अन्तर्राष्ट्रिय

आप्रबासी छिर्न रोक नलगाए मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका छिर्न खोज्ने आप्रवासीलाई रोक्न थप कदम नचाले मेक्सिकोसँग जोडिएको सीमा बन्द गर्न सक्ने बताए ।

सीमा बन्द गरिए आवतजावत अवरुद्ध हुनुका साथै अर्बौँ डलरले व्यापार खर्च बढ्नेछ । मेक्सिकोको नाका भएर अमेरिका छिर्ने आप्रवासीहरूको सङ्ख्यामा वृद्धि भइरहँदा ट्रम्पको पछिल्लो चेतावनी आएको हो ।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओर्बयाडोरले यो विषयलाई लिएर आफू मुठभेडको स्थितिमा नफस्ने बताए । विदेशमन्त्री मार्सेलो एब्रार्डले मेक्सिको अमेरिकाको ठूलो छिमेकी भएको र चेतावनीका आधारमा कदम नचाल्ने भन्दै शनिबार ट्वीट गरेका छन् ।

यसपहिले शुक्रवार पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भने, “अर्को हप्ता मैले सीमा बन्द गराउँछु जस्तो देखिन्छ र त्यसो गर्दा मलाई कुनै समस्या हुनेछैन ।” अमेरिका छिर्न खोज्ने मानिसहरूलाई रोक्ने काम सजिलो भए पनि मेक्सिकोले त्यसो नगरेको ट्रम्पको तर्क छ ।

त्यसपछि सो विषयमा ट्रम्पले शृङ्खलाबद्ध ट्वीटहरू गरे । जसमा उनले लागुऔषध तस्करी नियन्त्रणमा रकम खर्चिनुभन्दा सीमा बन्द गर्नु राम्रो हुने बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आईतवार ०१:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।