Logo

पत्रपत्रिका

मेलम्ची आयोजनाको ठेक्का पूर्व माओवादी कार्यकर्तालाई



मेलम्ची खानेपानी आयोजनाले पूर्वमाओवादी कार्यकर्तालाई बिना प्रतिस्पर्धा धमाधम ठेक्का दिन थालेको छ । आयोजनाले साविकको ठेकेदार सीएमसीले छाडेर बाँकी रहेका कामको जिम्मेवारी सेटिङमा पूर्वमाओवादी कार्यकर्तालाई दिएको हो । आयोजना प्रमुख सूर्यराज कँडेलले बिनाप्रतिस्पर्धा तीन करोड रुपैयाँको मेलम्चीको मुहान हेडवक्र्स मध्येको काम श्रेष्ठ कन्स्ट्रक्सन भन्ने ठेकेदारलाई दिएका थिए । कन्स्ट्रक्सनले पूर्वमाओवादीका तीन कार्यकर्तालाई उक्त ठेक्काको पनि उपठेक्का लगाएको छ ।

मन्त्रिपरिषद्ले गत जेठ ६ गते कुल ४३ करोड रुपैयाँका काम बिनाप्रतिस्पर्धा जसलाई दिए पनि हुने गरी निर्णय गरेको थियो। सोही निर्णयको आडमा अहिले ती ठेक्का धमाधम पूर्वमाओवादी कार्यकर्तालाई वितरण सुरु भएको हो । डेढ अर्ब रुपैयाँमा पूरै मेलम्चीको काम सकिने भए पनि मन्त्रिपरिषद्ले दुई अर्ब ६३ करोड रुपैयाँमा ठेक्का दिने निर्णय गरेको थियो ।

आयोजना प्रमुखसित वार्ताका आधारमा ठेक्का लिन सफल श्रेष्ठले माओवादीका तीन कार्यकर्ता चिरन तामाङ, अभिषेक तामाङ र मोदनाथ भण्डारीलाई उपठेक्का दिएका छन् । कँडेलले तीन करोड रुपैयाँमा श्रेष्ठ कन्स्ट्रक्सनलाई दिइएको ठेक्का उसले माओवादी कार्यकर्तालाई दिएको हो । उपठेक्का लिएर उनीहरूले केही दिनअघि मेलम्ची खोलामा लगाएको ग्याभिन वाल ढुंगाको जाली भएको पर्खाल बाढीले बगाएको थियो ।

आयोजना स्रोतका अनुसार पूर्वमाओवादी कार्यकर्ताले ठेक्का लिएपछि मेलम्ची खोलामा ग्याभियन वाल लगाउन सुरु गरेका थिए । तर लगाउँदालगाउँदै बाढीले बगायो । ठेकेदराले १२ लाख रुपैयाँको पर्खाल लगाएर ५० लाख रुपैयाँको बिल कँडेलसमक्ष पेस गरेका छन् । बिलमा काम गर्न नपाएको दाबी क्लेम पनि समावेश छ ।

कँडेलले बिनाप्रतिस्पर्धा बाँकी काम गर्न खानेपानी मन्त्रालयमार्पmत मन्त्रिपरिषद्मा लगेको प्रस्तावमा ‘बर्खायाममा निर्माण भइसकेका सुरुङलगायतका संरचना बाढीबाट जोगाउने’ उल्लेख छ । मन्त्रिपरिषद्को गत जेठ ६ गते कँडेलको प्रस्ताव सदर गरेको थियो । ‘फास्ट ट्र्याक’ मा काम गरी मेलम्चीको बाढी सुरुङमा छिर्न नदिन भन्दै बिनाप्रतिस्पर्धा ठेक्का दिने मन्त्रिपरिषद्को निर्णय भए पनि काम भने हुन सकेको छैन । मन्त्रिपरिषद्ले मुहानको कामसमेत ४३ करोड रुपैयाँको ठेक्का बिनाप्रतिस्पर्धा समितिले दिन पाउने निर्णय गरेको थियो ।

यसरी वार्ताका आधारमा उपठेक्का पाउनेमा चिरन तामाङ, अभिषेक तामाङ र मोदनाथ भण्डारी छन् । चिरन पूर्वमाओवादी एवं सिन्धुपाल्चोकका विद्यार्थी जिल्ला अध्यक्ष हुन् । उनी विप्लव नेृतत्वको नेकपामा लागेर पुनः माओवादीमै फर्केका थिए । उनी खानेपानी मन्त्री बिना मगरको सचिवालय सदस्य पनि हुन् । ठेक्का लिएका अर्का अभिषेक तामाङ पनि पूर्व माओवादीको जिल्ला समिति सदस्य हुन् । उनी पनि विप्लव हुँदै पुनः माओवादीमै फर्केका हुन् । त्यस्तै अर्को ठेकेदारमा माओवादीका डीसीएम तथा हाल क्षेत्रीय सदस्य मोदनाथ पनि विप्लव हुँदै माओवादी फर्केका कार्यकर्ता हुन् ।

अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार ०२:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।