Logo

प्रमुख समाचार

‘कलाकारलाई राज्यसत्तामा पुग्न पैसा बुझाउनै पर्ने बाध्यता छ’



पूर्वउपराष्ट्रपति परमानन्द झाले नेताहरूलाई पैसा बुझाएरमा मात्रै कलाकारहरूले राज्य सत्ता र उच्च निकायहरूमा पहुँच पाउने गरेको बताएका छन् । अहिलेका राजनीतिक दलहरूले कलाकारहरूलाई सम्मान गर्न चुकेको भन्दै पैसा र पदले नेतालाई नराम्ररी गाँजेको बताए ।

तिलक फिल्मस् प्रालिको तेस्रो वार्षिकोत्सवमा आइतबार आयोजित राष्ट्र निर्माणमा कलाकारहरुको भूमिका विषयक विचार गोष्ठी, तथा श्रष्टा सम्मान कार्यक्रममा पूर्वराष्ट्रपति झाले कलाकर्मीहरूलाई राष्ट्रले सम्मान र प्रोत्साहन गर्नुपर्ने बताएका हुन् ।

‘यहाँ त पैसाको बिटो बुझाए मात्रै राज्य सञ्चालन र उच्च तहमा पहुँच पाउन सक्छन् कलाकारले, नभए केही हुँदैन, यो अवस्थालाई वर्तमान सरकारले अन्त्य गर्नुपर्छ,’ झाले भने, ‘कलाकारको मेहनत, देश र जनताप्रति दिएको बलिदानीलाई सम्मान गर्नुपर्छ, कदर गर्नुपर्छ ।’

कार्यक्रममा समाजवादी पार्टीकी नेतृ तथा राष्ट्रिय सभा सदस्य प्रमिला यादवले प्रदेशहरूलाई अधिकार सम्पन्न बनाएमा कलाकारलाई फाइदा पुग्ने बताइन् । ‘केन्द्रिकृत भएर बसेको मुलुकको पूँजीलाई अब विस्तारै प्रदेश र स्थानीय तहमा पु¥याउनुपर्छ,’ यादवले भनिन् ।

वरिष्ठ संस्कृतिविद्, गायक तथा देउडा सम्राट प्राज्ञ नन्दकृष्ण जोशी र संगीतकार तथा समाजसेवी मनोजराज शिवाकोटीले परिवर्तनका आन्दोलनहरूमा कलाकारको योगदान रहने गरेपनि सधैँ राज्यबाट उपेक्षाको शिकार भइरहेको बताए ।

कार्यक्रममा श्रष्टाहरुलाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष दीपकराज जोशीका अनुसार मुर्छना संगीतालयका प्रबन्ध निर्देशक वरिष्ठ गायक, संगीतकार मनोजराज शिवाकोटी, शैक्षिक तथा सामाजिक संघ–संस्थामा आवद्ध, वरिष्ठ शिक्षासेवी तथा समाजसेवी सपना लामा, पत्रकार अशोक अधिकारी, झरना कला केन्द्रकी प्रबन्ध निर्देशक, नृत्य निर्देशक तथा कलाकार मनिषा राईलाई सम्मान गरिएको छ ।

शैक्षिक अभियन्ता तथा समाजसेवी रामकृष्ण बल, निर्माण, सौन्दर्य तथा महिला उद्यमी सरस्वती श्रेष्ठ (सरु), नृत्य निर्देशक तथा कलाकार रोशन बुढाथोकी, महिला उद्यमी तथा समाजसेवी छपिकुमारी ओली, वरिष्ठ ध्वनी सम्पादक तथा गायक कुमार राना सम्मानित भएका छन् । सम्मानित श्रष्टाहरुलाई झाले सम्मापत्र प्रदान गरेका थिए

प्रकाशित मिति : ८ मंसिर २०७६, आईतवार १३:५७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।