Logo

पत्रपत्रिका

सीमा समस्या समाधानमा ढिलाई, परराष्ट्रको पहल अपुरो



भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी र लिपुलेकको समस्या सामाधानमा परराष्ट्रको पहल अपुरो रहेको पाईएको छ । सीमा समस्याबारे चर्चा हुन थालेको महिना दिन वितिसक्दा समेत नेपालले ठोस निकास निकाल्न नसक्नुमा परराष्ट्र मन्त्रालयकै मुख्य कमजोरी रहेको पाइएको छ । यो सामाचार आजको अन्नपुर्ण पोस्टमा छापिएको छ ।

समाचार अनुसार सरकारले यो विषयमा भारतसंग राजनीतिक र कूटनीतिक तहमा वार्ता गर्ने भने पनि सार्थकता नपाएपछि प्रधानमन्त्री केपी ओलीले चासो देखाएका छन्। काश्मिरलाई राखेर गत कात्तिक १६ मा भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालमा जनस्तरबाट विरोध भइरहे पनि सरकारी तहबाट ठोस पहलकदमी भएको छैन।

सीमा अतिक्रमण जस्तो गम्भीर विषय समाधानका लागि विषयलाई बीचमै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा सचिव शंकरदास बैरागी रूस भ्रमणमा निस्कँदा यो विषय एक साता स्वतः ओझेलमा परेको थियो।
सरोकारवाला मन्त्रालयले नै कूटनीतिक गाम्भिर्यता नदेखाएको भन्दै प्रधानमन्त्री ओलीले चासो राखेका हुन्। परराष्ट्रले कुन तहसम्म काम गरेको छ भन्ने चासो प्रधानमन्त्रीले राखेको प्रधानमन्त्री सचिवालयले जनाएको छ। रूस भ्रमणबाट फर्केपछि परराष्ट्रमन्त्रीले कुटनीतिक माध्यमबाट समाधानको प्रयास गरिरहेको बताए। परराष्ट्र नेतृत्व सीमा अतिक्रमणबारे गम्भीर नभएर बाहिर गफमात्र गरिरहेको आरोप पनि लाग्ने गरेको छ।

कूटनीतिक च्यानलबाट काम नहुने ठानेर प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष दूतका रूपमा पठाउन पहल गरेका छन्। त्यो पहल कूटनीतिक च्यानललाई मन नपर्दा मुर्तरूप भने पाइसकेको छैन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समय मिलाउन नसक्दा ओलीका विशेषदूत नेपालको भ्रमण हुन सकेको छैन।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार ०१:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।