नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा आफुले गर्ने कामको ६ महिने रूपरेखा तयार पारेका छन् । सोमबार बस्ने सचिवालय बैठकमा उक्त प्रस्ताव पेश गर्नेगरी दाहालले कार्ययोजना तयार पारेका हुन् । जसका लागि पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्य शीर्ष नेतासंग समेत छलफल चलाएको पाइएको छ ।
नेकपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार दिउँसो बस्ने बैठकमा अर्का अध्यक्ष एबं प्रधानमन्त्री ओली भने सहभागी नहुने महासचिव विष्णु पौडेलले बताएको सामाचार आजको अन्नपुर्ण पोस्टमा छापिएको छ । समाचारमा ४ मंसिरको सचिवालय बैठकले ‘कार्यकारी’ अध्यक्ष तोकेपछि दाहालले शीर्ष नेताहरूसँगकै परामर्शमा ६ महिनाका लागि पार्टी कामको रूपरेखा तयार पारेको स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले बताए।
दाहालले पहिलो पटक कार्ययोजना प्रस्ताव पेस गर्न लागेका हुन्। यसअघि उनीसहित ओलीले गत वर्ष स्थायी समिति बैठकमा संयुक्त रूपमा राजनीतिक प्रतिवेदन पेस गरेका थिए। त्यसबारे छलफल भए पनि कार्यायोजना भने संगठनात्मक एकतामा ढिलाइका कारण अलपत्र परेको थियो। गत वर्ष मंसिर २९ देखि पुस १३ सम्म स्थायी समिति बैठक बसेको थियो। त्यसयता स्थायी समिति बसेको छैन। केन्द्रीय समिति पार्टी एकताको १८ महिनामा एकपटक मात्र बसेको छ।
दाहालले आफ्नो प्रस्तावबारे ओली र महासचिव पौडेलसँग आइतबार साँझ बालुवाटारमा छलफल गरेका थिए। खुमलटारस्थित निवासमा बिहान पनि महासचिव पौडेल, ऊर्जामन्त्री वर्षमान पुन, देवेन्द्र पौडेललगायत नेतासँग उनको कुराकानी भएको थियो। ‘सोमबारको सचिवालय बैठकमा संगठन विभागले पेस गरेको प्रस्ताव, स्थायी समिति बैठक बोलाउने गरी मिति निर्धारण गर्नेदेखिका प्रस्तावमा छलफल हुन्छ’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।
मंसिर अन्तिममा स्थायी समिति बैठक, त्यसलगत्तै केन्द्र्रीय समिति बैठक बोलाउने अनि माघ–फागुनमा दुईमहिने विशेष राजनीतिक अभियान चलाउने योजना प्रस्तावमा समेटिएको अर्का एक नेताले बताए।
पार्टी एकताको सन्देश जनतामाझ पुर्याउने, पार्टी र सरकारको नीति तथा योजनालाई सार्वजनिक रूपमा स्थापित गर्ने र जनतालाई पार्टीमा गोलबद्ध गर्न दुईमहिने विशेष राजनीतिक अभियान सञ्चालन गर्ने प्रस्ताव दाहालको छ। वैचारिक र भावनात्मक एकतालाई खदिलो बनाएर जाने गरी प्रशिक्षणका कार्यक्रम दाहालले कार्यायोजनामा समेटेका छन्।
केन्द्रीय निकाय, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटीलाई पूर्णता दिने, जनवर्गीय संगठनको केन्द्रदेखि स्थानीय तहसम्मका काम, पार्टी सदस्यता अध्यावधिक र एकीकृत अभिलेख राख्नेदेखि पार्टीका चलअचल सम्पत्ति केन्द्रिकरण गर्नेसम्मका योजना छन्। पार्टी स्कुल पाठ्यक्रम तयार पारी सञ्चालन गर्नेदेखि प्रभावकारी प्रचार कार्यसम्मका योजना दाहालले तयार पारेको प्रस्तावमा समेटिएको उनीनिकट स्रोतले बताएको छ।





















प्रतिक्रिया