Logo

पत्रपत्रिका

पप्पु कन्ट्रक्सनको बद्मासी



पप्पु कन्ट्रक्सनको बद्मासीले आयोजना निर्माणका लागि सरकारले दिएको ६ करोड नगद लिइसकेकाे थियाे । सरकारले
भैरहवा–लुम्बिनी सडकखण्डमा दुई पुल निर्माणका लागि उक्त बजेट दिएको थियो । ०७३ बर्खामा सकिनुपर्ने काम ०७६ हिउँदसम्म पर्खिदापनि अलपत्र अवस्थामा रहेकाले सरकारले ठेक्का तोड्यो । बीचको भाग मात्र ठड्याइएका पुलका भागहरु केही काम लाग्ने अवस्थाका छैनन् । हुलाकी राजमार्गअन्तर्गत भैरहवा–लुम्बिनी सडकखण्डको तिनाउ नदी र दानव नदीमा पुल बनाउन पप्पु र बाम्ती निर्माण सेवाले संयुक्त रूपमा २५ पुस ०७१ मा ठेक्का लिएका हुन् । पुल निर्माण ०७३ भित्र सक्ने सर्त थियो । जनताले दिनदिनै सास्ती पाइरहेका छन् । म्याद सकिएको तीन वर्षसम्म पनि दुवै पुल अलपत्र पारेपछि सरकारले बुधबार सार्वजनिक सूचना निकालेर ठेक्का तोडेको छ । अब ठेक्का कहिले लाग्ने हो, ठेकेदार पनि कस्ता आउने हुन् र पुल कहिले बन्ने हो भन्ने अनिश्चित छ ।

टेन्डर भयो, ठेक्का लाग्यो, पप्पु र बाम्ती कन्स्ट्रक्सनले नगद बुझे, पुलको बीचको भाग ठडियो, दुई छेउको काम गर्नुको सट्टा ठेकेदार लामो समयसम्म सम्पर्कविहीन भएको आयोजनाको भनाइ छ । छेउको फाउन्डेसन खन्दा चल्तीको सडक भासिने र यातायात अवरुद्ध हुने ठेकेदारको भनाइ थियो । सडक भासिएमा खोलामा डाइभर्सन खोलेर यातायात सुचारु गर्न भनिएको थियो । तर, ठेकेदार कम्पनीले काम छाडेको थियो ।

तिनाउ पुल बनाउन ६ करोड दुई लाख र डोन्डा पुल बनाउन पाँच करोड ५६ लाखमा सरकारले पप्पु र बाम्तीको संयुक्त उपक्रमलाई ठेक्का दिएको थियो । समयमा काम नसकेपछि म्याद ६ महिना थपेर पुस ०७३ मा सक्ने सहमति भएको थियो । पछि दुई वर्ष नै म्याद बढाएर असार ०७५ मा सम्पन्न गर्ने भनिएको थियो । तर, थपिएको म्याद सकिएको डेढ वर्षमा पनि तिनाउ र डोन्डा पुलको बीचको भाग मात्रै बेवारिसे अवस्थामा छ । तर, यसबीचमा तिनाउ पुल निर्माणका क्रममा तीन करोड ६५ लाख र डोन्डा पुलको निर्माणका लागि दुई करोड ४० लाख बुझिसकेको छ ।

ठेक्का तोडेको आयोजनाले ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नसमेत सिफारिस गरेको छ । यसरी बदनियत राखेका कारण ठेकेदार कम्पनीलाई कारबाही गर्ने बाटो खुलेको छ । तर, पुल कहिले बन्ने भन्ने निश्चित छैन । जब कि तिनाउ पुलमा रहेको पुरानो पुल जीर्ण भएका कारण एकतर्फी मात्र सवारी सञ्चालन हुने गरेको छ जसका कारण दिनहुँ जाम हुने गरेको छ ।

यसैगरी, चितवनको गोलाघाटस्थित नारायणी पुल डिजाइन गरी निर्माण गर्नुपर्नेमा ठेक्काको म्याद सकिँदासमेत डिजाइनसमेत तयार भएन । यसको ठेकेदार पनि पप्पु नै हो । पप्पुको ज्वाइन्ट भेन्चरको रूपमा रमण कन्स्ट्रक्सन पनि थियो ।

गोलाघाटमा पुल बनाउन २५ असार ०६९ मा ठेक्का सम्झौता भएको थियो । ३६ करोड चार लाखमा ठेक्का लिएपछि पेस्कीबापत तीन करोड ६० लाख ठेकेदारले लिएको छ । पुल निर्माणको काम २४ असार ०७६ मा सम्पन्न गर्नुपर्ने थियो । तर, सात वर्षसम्म पुलको डिजाइनसमेत बनाएको छैन ।

काम नगरेकाले १६ असार ०७६ मा ठेक्का रद्द गरिएको थियो । तर, सात वर्षसम्म काम नगरेकाले ठेक्का रद्द गरी पप्पु–रमण जेभीलाई कालोसूचीमा राख्न हुलाकी सडक निर्देशनालयले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको छ ।

कुल ८६ मिटर लम्बाइको पुलमा चारवटा फाउन्डेसन निर्माण गर्नुपर्ने थियो । एउटा फाउन्डेसनमा १६ खम्बा (पाइल) मिलाएर राख्नुपर्ने हुन्छ, सबै खम्बाको लम्बाइ ९गहिराइ० २९ दशमलव पाँच मिटर हुनुपर्ने डिजाइनमा तोकिएको थियो । पप्पुले खम्बा गाडेपछि सरकारी इन्जिनियरले जाँच गर्दा एउटा खम्बाको गहिराइ १६ दशमलव पाँच मिटर मात्र भेटियो भने अन्य तीनवटा खम्बा ‘क्र्याक’ भइसकेको भेटियो । यो नै पुलमा भएको मुख्य कमजोरी हो ।

२१ कात्तिक ०७५ मा ठेक्का रद्द गरी पप्पुलाई कालोसूचीमा राख्न सिक्टा आयोजनाले सिफारिस गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले १६ चैत ०७५ मा कम्पनीलाई कालोसूचीमा राखेको थियो । २३ किलोमिटर नहर बनाउन ९९ करोड ८१ लाखमा ठेक्का प्राप्त गरेको कम्पनीले म्याद सकिने वेलासम्म जम्मा सात प्रतिशत मात्र काम गरेको थियो । त्यही आधारमा आयोजनाले ठेक्का रद्द गरेको थियो । खरिद अनुगमन कार्यालयले तीन वर्ष अर्थात् १५ चैत ०७८ सम्मका लागि पप्पुलाई कालोसूचीमा राखेको छ ।

पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न तीन आयोजनाले सिफारिस गरेको सार्वजनिक खरिद अनुगमनको भनाई छ। काठमाडौंको तिनकुने पुलको काम तोकिएको मापदण्डअनुसार नगरेको भन्दै काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पप्पुसँगको ठेक्का तोडी कालोसूचीमा राख्न सिफारिस गरेको छ । त्यस्तै, हुलाकी सडकअन्तर्गत गोलाघाटस्थित नारायणी पुल डिजाइन गरी निर्माण गर्नुपर्नेमा ठेक्काको म्याद सकिँदासमेत डिजाइनसमेत तयार नगरेकाले हुलाकी सडक निर्देशनालयले समेत ठेक्का रद्द गरी कालोसूचीमा सिफारिस गरिसकेको छ । हुलाकी राजमार्गअन्तर्गत भैरहवा–लुम्बिनी सडकखण्डको तिनाउ र डोन्डा पुल पनि अलपत्र पारेकाले आयोजनाले बुधबार मात्र ठेक्का रद्द गरेको छ । लगत्तै कालोसूचीमा राख्न सिफारिस हुने आयोजनाले जनाएको छ । याे समाचार आजकाे नयाँ पत्रिका दैनिकमा छापिएकाे ५ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार ०१:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।