Logo

बैंकिङ

मेगा बैंकको आडमा भूमाफियाको दादागिरी, वडा कार्यालय समेत बिक्यो



बैंक सञ्चालन गर्ने नेतृत्वले सही तरिका अपनाउन नसकी लोभ लालच राख्यो भने के हुन्छ भन्ने गतिलो उदाहरण भारतीय निजी क्षेत्रको सबैभन्दा ठूलो वित्तीय संस्था आइसीआइसीआइ बैंककी तात्कालीन सिईओ चन्दा कोचरमाथि गरिएको कारवाहीको उदाहरण काफी हुन्छ । उनी नेतृत्वमा रहँदा सन् २००९ देखि २०१९ सम्ममा गरेको मिलेमतोको गलत कारोबारले बैंकको अन्तर्राष्ट्रिय छवि मात्र धमिलिएन, जनताले जम्मा गरेको २८ सय १० करोड रुपैयाँ एकै व्यक्तिबाट प्रयोग भएको खराब कर्जा बन्न पुग्यो  ।

आफ्ना पति दीपक कोचर समेत साझेदार रहेको वेणुगोपाल धूतको भिडियोकोण कम्पनीलाई ३२ सय ५० करोड भारु ऋण दिएकोमा ८६ प्रतिशत डुबेको थियो । उक्त प्रकरणमा दीपक कोचरका भाइ राजीवले समेत दुख पाएका थिए । बैंकको शेयर साझेदार अरबिन्दा गुप्ताले सन् २०१६ मै गलत कारोबारको रुपमा ऋण प्रवाह भएको प्रचार गर्दा कसैले ध्यान नदिएको परिणाम उक्त घोटाला भएको चर्चा गरिन्छ । 

एकजना जिम्मेवार व्यक्तिको गैरजिम्मेवार कारोबारले परिवारदेखि निक्षेपकर्ता र सर्वसाधारणलाई दुख दिएको आइसीआइसीआइ बैंकको प्रकरण जस्तै नेपालको एक मात्र महिला सिईओ भएको मेगा बैंक पनि त्यो भन्दा खतरामा रहेको चर्चा चलिरहेको छ । यस बैंकले गलत नियत बोकेका नामुद भूमाफियाहरुलाई साथमा लिएर विभिन्न निर्दोष व्यक्तिहरुलाई दुख दिइरहेको छ । जुन प्रकरणका कतिपय फेहरिस्त हामीले उल्लेख गरिसकेका छौं । 

Anupama_Khunjeli.jpg

बैंककी सिईओ अनुपमा खुन्जेली

मेगा बैंककै सम्बन्धबाट साझेदार कारोबारी बनेका भूमाफिया भूमादेवी गौतम पौडेल, गुरुदत्त पौडेल तथा उत्तमकुमारबीचको सम्झौता लेनदेन, ठगी र अदालत हुँदै व्यक्तिको घर जबरजस्ती खाली गराउँने अवस्थासम्म पुगेको छ । गुरुदत्त र भूमादेवी पति पत्नी हुन् । उत्तमकुमार  व्यापारी पृक्ष्ठभूमिका व्यक्ति हुन् । पौडेल दम्पत्ति विभिन्न व्यक्तिहरुको जग्गा जमिन सस्तोमा लिएर मेगा बैंकबाट महँगो ऋण निकाल्ने गर्छन् ।

तीन वर्ष अगाडिदेखि उनीहरुको बिवाद चलिरहेको छ । आफ्नो जग्गा र भूमादेवीको नाममा रहेको घरको ऋण साटफेरमा तिरेर उपभोग गर्ने सम्झौता पौडेल दम्पत्तिले उल्लंघन गरेर फसाएको आरोप उत्तमकुमारको छ भने उत्तमकुमारले सम्झौता उल्लंघन गरेर आफूहरुको घर कब्जा गरेको दावी पौडेल दम्पत्तिको छ । 

Gurudatta Paudel.jpg

भूमादेवीका श्रीमान् गुरुदत्त पौडेल

उत्तमकुमार आफूसँग गरेको लिखित सम्झौता बमोजिम न्याय पाउनु पर्ने भन्दै अदालतको ढोका चाहारिरहेका छन् । त्यसैगरी भूमादेवी भने वडा कार्यालयको साथमा प्रहरी लिएर घर खाली गराउन हात धोएर लागेकी छन् । आफू बसेको घर खाली गराउँन नपाउने गरी निषेधाज्ञाको माग लिएर उच्च अदालत पुगेका उत्तमकुमारलाई पहिलो निवेदनमा अदालतले निषेधाज्ञा नदिएका कारण पौडेल दम्पत्ति र मेगा बैंकका पदाधिकारी समेत उत्साहित छन । उत्तमकुमारको दोश्रो निवेदन भने उच्च अदालतमा बिचाराधीन अवस्थामा छ ।

अदालतमा मुद्दा विचाराधीन रहेको सवालमा जवरजस्ती गर्न नपाउने दावी सहित उत्तमकुमार आफ्नो परिवारसंगै उक्त घरमा बस्दै आएका छन । ‘अदालतमा मुद्दा बिचाराधीन रहेको अवस्थामा मैले मेरो घर किन खाली गर्नु पर्ने ? मेरो जग्गा पनि जाने अनि मेरो घर पनि जाने ? मेरै सम्पत्तिमा धेरै दुख पाएँ, आफ्नै घरको बत्ती समेत जबर्जस्ती काटिदिएर अन्धकार बनाएर लखेट्ने प्रयास गरे, अब मैले मेरो सम्पत्ति उनीहरुलाई किन दिने ?’ उत्तमको प्रश्न छ । 

Ghar.jpg

उत्तम कुमारको पाँच तले घर

माथिल्लो तला नछोडेर चार तला मात्रै खाली गर्न वडाध्यक्षले दबाव दिएको विषयमा काठमाडौं महानगरपालिका वडा नं २६ का वडाध्यक्ष खेम तिवारीसँग प्रतिकृया माग्दा उत्तमकुमारप्रति दया लागेकोले माथिल्लो तला प्रयोग गर्नु भनेको बताए । बैंकमा धितो राखेर बैंकले रोक्का नराखेको हुन्थ्यो भने भूमादेवीले उक्त घर जग्गा बेच्न सक्ने दावी वडाध्यक्ष तिवारीको छ ।

यसै विषयमा कुराकानी गर्न भूमादेवी पौडेललाई फोन गर्दा फोन उनका पति गुरुदत्तले उठाए । उत्तमकुमारको ऋण आफूहरुले तिरिदिएको तर आफूहरुको ऋण उत्तमकुमारले नतिरेको आरोप लगाउँदै वडा कार्यालय तथा अदालतमा दौडिएर उत्तमकुमारले सबैलाई अनावश्यक दुख दिएको आरोप पौडेलले लगाए । 

शुक्रबार जबरजस्ती घर खाली गरिन्छ : पौडेल

गुरुदत्त पौडेलले आउँदो शुक्रबार जसरी पनि खाली गरिने बताएका छन् । ‘उहाँले तीन वर्षदेखि त्यो घरमा बसेर भाडा समेत तिर्नु भएन । बरु लकडाउनको समयमा भाडामा बस्नेहरु सबैलाई हटाउनु भयो । त्यत्रो पाँच तलाको घरमा एक्लो परिवार बस्नु भएको छ । हामी भित्र पस्छौं भनेर एक जनाले घर भित्र छोड्नु हुन्न ।’- पौडेलले भने ।

अदालतले नभनी घर खाली गर्दिन : उत्तम

पौडेलले वडा कार्यालयको सहयोगमा शुक्रबार घर खाली गराउने तयारी गरेका बेला उत्तमकुमारले भने खाली नगराउने अडान लिएका छन् । भन्छन– ‘म भाडामा बसेको होइन । मेरो आफ्नो घर भएकाले सहमतिमा बसेको हो । यो कुरा त भूमादेवीले पनि बयान दिएको छ नि । जबरजस्ती गरेर कहाँ हुन्छ ?  कागजले बोल्छ । अदालतमा बयान गरेको छ । यो मुद्दा सिआईबी र अख्तियारमा गएको छ । अदालतले भन्यो भने मात्र घर छाड्छु । अहिले छोडदिन ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार १७:२२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।