Logo

अर्थ

चिसो छल्न बेसी झरेकाहरु जिम्बु र भोटेजिरा बेचेर आम्दानी गर्दै



तातो मौसममा यार्सागुम्वा सङ्कलन गरेर आम्दानीको स्रोत बनाउँदै आएका शे फोक्सुण्डो गाउँपालिका– ९ का इमान दुन्दुप गुरुङ अहिले जाजरकोटका गाउँमा छन् ।

उनि दुई छोरा र श्रीमतीका साथ रुकुम पश्चिमका गाउँ घुमेर जाजरकोट पुगेका हुन् ।

जाजरकोटको नलगाड नगरपालिकामा मुख्य बजारयात्रा गर्दै तीन दिनदेखि सदरमुकामस्थित खलङ्गामा बस्दै आएका छन् ।

गुरुङसँगै शे फोक्सुण्डो गाउँपालिकाका धेरै मानिस अहिले देशका विभिन्न ठाउँमा पुगेका छन् ।

गुुरुङ परिवार जाजरकोट सदरमुकाममा दैनिक बिहानैदेखि ३० केजीको जिम्बु बोकेर सदरमुकामवासीको घर, दैलोमा पुगेर व्यापार गरिरहेका छन् ।

गएको १५ दिनमा एक लाखको जिम्बु बिक्री गरिसकेको बताउने गुरुङ भन्छन्,“उपल्लो डोल्पा घरमा हिउँ परेको छ, वर्षायाममा जङ्गलमा पाइने जिम्बु जम्मा गरेर चिसो मौसममा घरदैलोमा आएर व्यापार गरिरहेका छौँ । ”

खेतबारीमा खाद्यान्न उत्पादन नहुँने भएकाले जङ्गलमा उत्पादन हुँने जडीबुटी सङ्कलन गरेर बिक्री गरी आएको पैसाले दैनिक पारिवारिक समस्या समाधान गर्दै आएको गुरुङले बताए ।

गुरुङ जस्तै वडा नं– ७ का सार्के वैजु श्रीमतीसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जिम्बु बिक्री गरिरहेका छन् ।

दुई छोरा काठमाडौँमा पढाउँदै आएका वैजु वर्षेनी जिम्बु बिक्री गरी भएको आम्दानीले छोराको पढाइखर्च जुटाउँदै आएको बताउछन् ।

जमीनमा उत्पादन हुने उवा, तितेफापर, सिमीले तीन महिना खान नपुग्ने उनको भनाई छ ।

उपल्लो डोल्पाबाट दुनैसम्म पिठ्यूँमा बोकेर ल्याएको जिम्बु, सिमीलगायतका वस्तु दुनैबाट ट्र्याक्टरमा राखेर कर्णाली प्रदेश र अन्य ठाउँमा निर्यात गरिँदै आएको उनको भनाइ छ ।

उपल्लो डोल्पाको हिमाली भागमा चौंरी पाटनमा उम्रिने यो जिम्बु दाल तथा तरकारीमा राख्दा वास्नादार हुने भएकाले अत्यधिक प्रयोग हुँदै आएको छ ।

उपल्लो डोल्पाका सबै स्थानीय तहको जङ्गलमा पाइने यो वास्नादार जिम्बु देशका अन्य ठाउँमा पनि माग हुने गर्छ ।

यहाँका स्थानीयवासी जङ्गलमा पाइने जिम्बु सित्तैमा सङ्कलन गरी आर्थिक उपार्जनको राम्रो माध्यम बनाउँदै आएका छन् ।

भौगोलिकरूपमा सडक सञ्जालसँग नजोडिएका डोल्पो बुद्ध, शे फोक्सुण्डो, छार्काताङसुङ गाउँपालिकाका पाटनमा जिम्बु पाइन्छ ।

अधिकांश स्थानीयवासी जिम्बु सङ्कलन गरेर बाहिरी जिल्लामा पुगेर बिक्री गर्छन् । जिम्बु प्रतिमाना ५० रुपैयाँमा बिक्री हुन्छ । असोज कात्तिक महिनामा पाटन क्षेत्रमा जिम्बु सुक्ने भएकाले सोही समयमा पाटन पुगेर जिम्बु टिप्ने गरिन्छ ।

बालबालिकादेखि सबै उमेरका स्थानीयवासी जिम्बु टिपेर अर्थ उर्पाजनमा सङ्लग्न हुन्छन् । जिम्बु बेचेर कतिपयले राम्रो आम्दानी गदै आएको फोक्सुण्डो गाउँपालिकाका प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उपल्लो डोल्पाका सबै स्थानीय तहमा पाइने भोटे जिरा (पोट्का) को माग अत्यधिक हुने गरेको छ ।

तरकारी, मासु र चटनीमा अत्यधिक रुपमा प्रयोग हुने भोटेजिरा उपल्लो डोल्पाको पाटनमा पाइन्छ ।

प्रतिकेजी पाँच सय देखि ७ सय रुपैयाँसम्म पर्ने भोटे जिरा अर्गानिक मानिन्छ । स्थानीयवासीले भदौ महिनाको तेस्रो सातातिर भोटे जिरा सङ्कलन गर्दछन् ।

ती जडीबुटीबाट स्थानीयवासीले मनग्यै आम्दानी गदै आएको र स्थानीय सरकारले कर नलिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए । रासस

प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार १०:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।