Logo

पत्रपत्रिका

शैक्षिक प्रमाणपत्र छानबिन हुन थालेपछि एसपीले दिए राजीनामा



शैक्षिक योग्यताको प्रमाणपत्रमाथि छानबिन सुरु भएपछि नेपाल प्रहरीको ब्यान्ड गुल्म केन्द्रीय संगीत विद्यालयका प्रमुख एसपी राजेन्द्र गुरुङले राजीनामा दिएका छन् । घरायसी कारण देखाउँदै तीन दिनअघि उनले पदबाट राजीनामा दिएका हुन ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले एसपी गुरुङले राजीनामा दिएको पुष्टि गरे । ‘एसपी राजेन्द्र गुरुङले पदबाट राजीनामा दिएका हुन । पत्रमा घरायसी कारण भन्ने उल्लेख छ,’ उनले भने ।

प्रहरी स्रोतका अनुसार गुरुङले प्रवीणता प्रमाणपत्र तहको प्रमाणपत्र पेस गरी सइबाट नेपाल प्रहरीको संगीत विद्यालयमा सेवा सुरु गरेका थिए । उनले कुनै एकेडेमिक अध्ययन गरेका भने होइनन । नेपालकै एक निजी संगीत कला केन्द्रमा केही समय संगीत सिकेका गुरुङले सोही संस्थाको प्रमाणपत्रलाई आइएसरह भन्दै जागिर प्रवेश गर्दा बुझाएका थिए । सो प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयबाट ‘इक्विभ्यालेन्ट’ भएको भन्दै उनले प्रहरी प्रधान कार्यालयमा पेस गरेका थिए ।

प्रहरीमा सेवा सुरु गर्दा उनको उमेर ३५ वर्ष थियो । सोही प्रमाणपत्रका आधारमा उनी इन्स्पेक्टर, डिएसपी हुँदै एसपीसम्म भए । अहिले उनी विद्यालयको एसएसपी पदमा एक्ला प्रतिस्पर्धी थिए । नेपाल प्रहरीले उनैका लागि विद्यालयमा एसएसपी पदको नयाँ दरबन्दी थप गर्ने निर्णय गरेको थियो । नयाँ पत्रिकाबाट

प्रकाशित मिति : २० पुष २०७६, आईतवार ०२:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।