नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन साताको पहिलो दिन आइतबार बजार खुल्ने बित्तिकै एक हजारले वृद्धिभई तोलामा रु ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुन भने तोलामा ७५ हजार २ सय कायम भएको छ । शुक्रबार तेजाबी सुनको मूल्य ७४ हजार २ सय थियो । चाँदीको मूल्य भने प्रतितोला रु ९ सयमा कारोबार भएको छ । शुक्रबार पनि चाँदीको मुल्य ९ सय नै थियो ।
यही पुस १ गते छापावाला सुन प्रतितोला ७१ हजार ५ सयमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ७१ हजार २ सय मा कारोबार भएको थियो ।
आजसम्म आइपुग्दा छापावाल र तेजाबी सुन २० दिनको अन्तरालमा प्रतितोला चार हजार रुपैयाँले वृद्धि भएको छ । पुस १ गते प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज २० दिनमा आइपुग्दा रु ५० ले वृद्धि भएको छ ।
महासङ्का अनुसार गत मङ्सिरमा सामान्य अङ्कले ओरालो लागेको सुनचाँदीको बजारमा पछिल्ला दिनमा भने उल्लेख्य मूल्य वृद्धि भएको छ ।
अमेरिका र इरानबीचको विवादले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारसमेतमा परेको जनाइएको छ । रासस


















प्रतिक्रिया