अमेरिकाले इरानी सेनाका जनरल कासिम सुलेमानीको इराकमा हत्या गरेपछि सरकारले इराकलगायत मध्यपूर्वी देशमा रहेका नेपालीको सुरक्षामा सतर्कता अपनाएको छ । पराराष्ट्र मन्त्रालयले ती देशमा रहेका नेपालीसँग नियमित सम्पर्कमा रहन र निरन्तर जानकारी गराउन राजदूतहरूलाई निर्देशन दिएको छ ।
आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री रामेश्वर राय यादव तथा दुवै मन्त्रालयका सचिवसहित उच्च अधिकारीको बैठकपछि सबै दूतावासलाई सर्कुलर पठाइएको परराष्ट्रका प्रवक्ता भरतराज पौड्यालले बताए । सर्कुलरमा सुलेमानीको हत्यापछि उत्पन्न परिस्थितिको विश्लेषण र भविष्यमा द्वन्द्व बढ्ने अवस्थामा नेपालीको उद्धार कसरी गर्न सकिन्छ भन्नेबारे विस्तृत विवरण पठाउन राजदूतहरूलाई भनिएको छ ।
यसैबीच, इराकमा कूटनीतिक निकाय नभएको नेपालले कुवेतका लागि नेपाली दूतावासमार्फत आफ्ना नागरिकको अवस्थाबारे जानकारी लिइरहेको छ । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले इराकमा रहेका नेपालीसँग निरन्तर समन्वयमा रहेको र बग्दादस्थित ग्रिनजोन तथा कुर्दिस्तानलगायत ठाउँमा कार्यरत नेपाली सुरक्षित रहेको जनाए । ‘इराकको बग्दाद, कुर्दिस्तानमा हाम्रो कूटनीतिक उपस्थिति छैन । तर, त्यहाँ रहेका नेपालीसँग हामी निरन्तर सम्पर्कमा छौँ । अहिलेसम्म नेपाली सुरक्षित छन,’ इराकका लागि गैरआवासीय राजदूतसमेत रहेका भण्डारीले बताए ।
बग्दादको अवस्था जटिल भए पनि त्यहाँको मुख्य सरकारी क्षेत्र (ग्रिन जोन)मा तीनवटा कम्पनीमा कार्यरत नेपालीहरू सुरक्षित पाएको भण्डारीले बताए । कुर्दिस्तान र अन्य क्षेत्रमा भने सुरक्षा चुनौती छैन । इराकमा रहेका नेपालीको यकिन संख्या सरकारसँग छैन । त्यहाँ करिब २३ हजार नेपाली रहेको अनुमान छ । बग्दादमा अमेरिकी कम्पनीमा कार्यरत नेपालीलाई उच्च अधिकारीले क्याम्पभित्रै रहन आग्रह गरेका छन । ‘परिस्थिति जटिल बन्दै गयो भने कम्पनीले नै बाहिर रेस्क्यु गरिदिने आश्वासन दिएको रहेछ । पहिला रेस्क्यु भएको अनुभव पनि हामीलाई त्यहाँका साथीहरूले सुनाएका छन,’ राजदूत भण्डारीले भने, ‘हाम्रो जानकारीमा ग्रिन जोनमा रहेका नेपालीहरू अलर्ट छन ।’ नयाँ पत्रिकाबाट





















प्रतिक्रिया