लाख दिएर करोड असुल्दै सयौँ व्यक्ति ठग्ने साहुकार रामबाबु राय यादवलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेपछि छुटाउन राजनीतिक दबाब सुरु भएको छ । राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्यसमेत रहेका रायलाई छुटाउन पार्टीका जिल्ला नेताहरूले प्रशासन र प्रहरीलाई दबाब दिन थालेका हुन ।
राजपा सर्लाही संयोजक सुशील यादवको नेतृत्वमा डेढ सयको संख्यामा रहेको समूहले बिहीबार प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई भेटेर आफ्ना नेतालाई छाड्न चेतावनी दिएका हुन । कुनै उजुरीविना नै पक्राउ गर्नु गलत भएको भन्दै उनीहरूले आपत्ति जनाएका छन ।
‘राजपा जिल्ला संयोजकसहित नेता–कार्यकर्ता आउनुभएको थियो,’ सिडिओ मोहनबहादुर जिसीले भने, ‘उजुरी र प्रमाणविना किन पक्राउ गरियो भन्दै हुनुहुन्थ्यो ।’ उनीहरूले ज्ञापनपत्रसमेत बुझाएका छन । बिहीबारै प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेललाई पनि भेटेर उनीहरूले यही माग गरेका छन ।
सिडिओ र एसपीलाई दबाब दिन जिल्ला संयोजक सुशील यादवसँगै कविलासी नगरपालिकाका मेयर कौशल यादव, कौडेना गाउँपालिका अध्यक्ष रामप्रसाद यादवलगायत गएका थिए । सिडिओलाई ज्ञापनपत्र बुझाउनुअघि उनीहरूले नारा–जुलुससहित मलंगवा बजारमा प्रदर्शनसमेत गरेका थिए । नयाँ पत्रिका





















प्रतिक्रिया