महिनावारी भएका महिलालाई राख्न बनाइएका छाउगोठ भत्काउन कर्णाली र सुदूरपश्चिममा सरकारले अभियान नै चलाएको छ । प्रहरी र जनप्रतिनिधि भौतिक छाउगोठ भत्काउँदै हिँडेका छन्, तर स्थानीयको मनमा रहेको गोठ जस्ताको तस्तै छ । त्यसैले महिनावारी भएका महिलाले घरभित्र बास पाएका छैनन् । कतिपयले त भत्काइएका छाउगोठ बनाउन थालेका छन् ।
आइतबार अछामको तुर्माखाँद गाउँपालिका–५ धाङ्टाकी कला विक भत्काइएको छाउगोठ मर्मत गर्दै थिइन् । शनिबार महिनावारी भएकी उनी ‘देउता रिसाउने’ डरले घरभित्र पसिनन्, भत्काएकै छाउगोठमा रात बिताइन् । मर्मत गर्दै गरेको गोठ फेरि गाउँपालिकाको टोली आएर भत्काइदिन्छ कि भन्ने पिर उनको मनमा छ । ‘बाहिर बस्दा सरकारको डर छ, भित्र देवी–देउताको,’ कलाले भनिन्, ‘महिनावारी हुँदा सधैँ छाउगोठमै बस्यौंँ, अहिले कसरी भित्र छिर्नु ?’
खरले छाएको दुईकोठे घरमा कला तीन नाबालक छोरासँगै बस्छिन् । श्रीमान् रोजगारका क्रममा भारतमा छन् । चाडबाडका वेला मात्रै फर्किन्छन् । निरक्षर कला महिनावारी हुँदा घरभन्दा केही पर बनाइएको छाउगोठमा बस्नु परम्परादेखि चल्दै आएको ‘सामाजिक संस्कार’ हो भन्ने बुझ्छिन् । छाउगोठमा बसेको पाइए कारबाही गर्ने भनिएकाले पक्राउ परिएला कि भन्ने डर पनि उनमा देखिन्छ ।
धाङ्टाकै हरिकला जोशी महिनावारी भएको दुई दिनदेखि भैँसीगोठमा बसिरहेकी छन् । माटो र ढुंगाले बनेको उनको दुईतले घरको भुँइतलामा गाईभैँसी बाँध्ने गोठ छ । घरको आँगनमुनि रहेको छाउगोठ प्रहरी र गाउँपालिकाको टोलीले भत्काइदियो । यहीबीच उनी महिनावारी भइन् । तत्काल छाउगोठ बनाउन सक्ने अवस्था नभएपछि भैँसीगोठमै बस्न थालेको उनले बताइन् । ‘अहिले बनाउन सकिएन, अर्कोपल्ट महिनावारी हुँदा छाउगोठमै बस्छु,’ ४९ वर्षीया हरिकलाले भनिन् । महिनावारी भएको वेला घरभित्र बस्दा परिवारका सदस्य बिरामी हुने, गाईभैँसी मर्ने, घरभित्रै सर्पहरू देखिनेजस्ता विपत्ति आउने हरिकलाको बुझाइ छ । नयाँ पत्रिकाबाट





















प्रतिक्रिया