Logo

पत्रपत्रिका

रेशम चौधरी छिट्टै छुट्छन् : प्रचण्ड



सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन् । माघी महोत्सवका अवसरमा बुधबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले टीकापुर घटनाका मुद्दा खारेज गर्ने विषयमा पार्टी र सरकारमा छलफल भइरहेको जनाउँदै परिणाम केही समयभित्रै निस्कने जिकिर पनि गरे ।

उनले भने, ‘टीकापुर घटनाको सन्दर्भमा झुटा मुद्दा खारेज गर्नुपर्यो भनेर साथीहरूले भन्नुभयो, पार्टी र सरकारसँग पटक–पटक छलफल भइसकेको छ । कतिपय साथी छुटेका छन् । रेशमलगायत साथीहरू छुट्न बाँकी छ । छुटाइन्छ हेर्नुहोला, केही समयभित्र यसको परिणाम निस्कन्छ ।’

०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनरत थरुहट र सुरक्षाकर्मी बीचको झडपमा प्रहरीका एक एसपीसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । त्यही अभियोगमा चौधरीलगायतविरुद्द कैलाली जिल्ला अदालतमा परेको मुद्दामा अदालतले दोषी ठहर गर्दै चौधरीलगायत ११ जनालाई जन्मकैद, १२ जनालाई ३ वर्ष जेल, एक जनालाई ६ महिना जेल र तीन जनालाई सफाइ हुने फैसला सुनाएको थियो । मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद ठहर गरेको थियो ।

कैलाली अदालतको फैसला पुनरावेदनका लागि चौधरीलगायत उच्च अदालत दिपायल गएका छन् । उनको मुद्दा उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा चलिरहेको छ । मुद्दाको पेसी ७ माघका लागि तोकिएको छ ।

‘रेशमलाई सबैभन्दा पहिला प्रधानमन्त्रीको हैसियतले भारतको दिल्लीमा भेटेर के हो तपाईंको कुरा राख्नुहोस् भन्ने पहिलो व्यक्ति प्रचण्ड थियो भन्ने तपाईंहरूले नबिर्सनुहोला ।

प्रधानमन्त्रीको हैसियतले मैले भेटेको हुँ’, दाहालले टुँडिखेलमा भने, ‘तपाईंहरूले के बिर्सन पाउनुहुन्न भने डिल्लीबजार खोरमा गएर रेशमलाई भेट्ने पनि मै हुँ भन्ने बुझिराख्नुस् । सभामुख, सरकार र पार्टीलाई भनेर कम्तीमा पनि रेशलाई शपथ गराउनुपर्छ, माननीयको दर्जा दिनुपर्छ भनेर निर्णय गराउन मुख्य भूमिका खेल्ने मान्छे पनि म हुँ भन्ने नबिर्सनुहोला ।’

चौधरी राजपाका तर्फबाट कैलाली १ बाट प्रतिनिधिसभामा विजयी भएका हुन् । ०७५ पुस १९ मा चौधरीलाई डिल्लीबजार सदरखोरबाट सिंहदरबारमा ल्याएर तत्कालीन सभामुख कृष्णबहादुर महराले सांसदको शपथ खुवाएका थिए । थरुहट र राजपाले चौधरीलगायत टीकापुर घटनामा मुद्दा लागेका माथिको मुद्दा फिर्ता लिन र उनलाई रिहा गर्न सरकारमाथि दबाब बढाइरहेका बेला सरकारकै नेतृत्व गरिरहेको दल नेकपा अध्यक्ष दाहालले उनी छिट्टै छुट्ने बताएका हुन् ।

टुँडिखेलमा आयोजित माघी सभामा बोल्ने केही थारू नेताले माघ १५ भित्र चौधरीलगायत टीकापुर घटनामा मुद्दा लागेकाको मुद्दा फिर्ता नलिए संविधान जलाएर सिंहदरबार र न्यायालयविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएपछि दाहालले चौधरी छुट्ने बताएका हुन् ।

दाहालले रेशम चौधरीको मात्र नभई आफैंले नेतृत्व गरेको माओवादी ‘जनयुद्ध’ मा सहभागी भएका कतिपय नेता–कार्यकर्ता पनि जेलमा अझै रहेको र उनीहरूलाई छुटाउने आन्दोलनमा आफैं संलग्न भइरहेको पनि बताए। दाहालले भने, ‘तपाईंहरूले थारू मात्र भन्नुभयो म त्यसलाई मान्दिनँ। सुन्नुहोस्, माओवादी आन्दोलनभित्र लागेका मसँगै भएका साथीहरू अहिले पनि जेलमा छन् । हिजो जनयुद्धमा संलग्न भएका पहाडिया ब्राह्मण क्षेत्री नै अहिले पनि जेलमा छन् । मोरङमा हिजो सेनाबाट विद्रोह गरी जनमुक्ति सेनामा आएका मान्छे केही समयपहिले पक्रिएर जेलमा हालिएको छ । उसलाई छुटाउने संघर्षमा म संलग्न छु भनेर तपाईंहरूले बुझ्न जरुरी छ । गोरखामा भर्खर अर्काे एक जनालाई गिरफ्तार गरिएको छ । जेल हालिएको छ, उनलाई छुटाउन पनि मेरो आन्दोलन जारी छ ।’

‘५ हजारको मात्र म जिम्मा लिन्छु’

दाहालले तत्कालीन माओवादी युद्धका बेला मारिएका १७ हजारमध्ये आफूले ५ हजारको मात्र जिम्मा लिने बताए। गलत तथ्यांक सच्याउन भन्दै दाहालले त्यसबेला मारिएका १२ हजारको जिम्मा त्यस बेलाका राजा र राज्य सञ्चालन गरेकाहरूले लिनुपर्ने बताए ।

‘पहिले म तथ्यांक मात्र सच्याउन चाहन्छु । तथ्यांक के भने मैले १७ हजार मान्छे मारेर आएको भन्ने गरिन्छ, यो सत्य होइन, सत्य के हो भने हिजोका सामन्ती राजाहरूले १२ हजार मारेका हुन् मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने जिम्मा म लिन्छु’, दाहालले भने, ‘तर राजाहरूले मारेको १२ हजारको चाहिँ कुरा नहुने, राज्यले मारेको पनि मेरै टाउकामा हाल्ने गरियो भने त्यो न्याय हुँदैन। मैले सधैं भनेको छु, युद्धको म जिम्मा लिन्छु । त्यहाँ भएका राम्रा–नराम्रा कामको म जिम्मा लिन्छु । त्यसबाट कहीँकतै भाग्ने कुरा हुँदैन।’

उनले आफूले सबै विषयलाई बुझेर आन्दोलनलाई अहिले चौतारीमा बिसाएको मात्र बताए। ‘आन्दोलन, संघर्ष भन्ने कुरा एउटा ठूलो पहाड चढेजस्तो हो । अहिलेसम्म कसैले नचढेको पहाड चढेजस्तै हो। पहाड चढ्दा कोही नपुगेको उचाइमा पग्दा माउन्ट एभरेष्ट चढ्न खोज्दा तपाईं सीधै नाक अगाडिबाट जान सक्नुहुन्न’, दाहालले अगाडि थपे, ‘तपाईंले दायाँ, बायाँ फर्किनुपर्ने हुन्छ। कहिलेकाहीँ तल झरेजस्तो पनि गर्नुपर्ने हुन्छ। चौतारीमा बिसाउनुपर्ने पनि हुन्छ। यो कुरा नबुझीकन तपाईंहरूले आरोपित गर्ने्तिर लाग्नुभयो भने त्यसले भलो गर्दैन।’
नयाँ चिज लिन पोल्टामा प्राप्त भएको कुरा नगुमोस् भन्नेमा सचेत हुनुपर्ने भन्दै दाहालले बुद्धिमतापूर्वक नै आफूहरूले आन्दोलन अगाडि बढाइरहेको जिकिर गरे। उनले भने, ‘माओवादी आन्दोलनमा सहभागीहरूको हकहितको प्राप्ति नहुँदासम्म, पूर्णरूपमा मुक्ति नहुँदासम्म म तपाईंहरूको ऋणी छु। मेरो काँधमा तपाईंहरूको जिम्मेवारी छ। मैले बुद्धिमतापूर्वक, आवेगमा होइन, उत्तेजनामा होइन, बुद्धि र्पुयाएर सबै जनसमुदायको पूर्ण मुक्तिको आन्दोलनलाई अगाडि लैजान जरुरी छ। यसमा तपाइँहरूको साथ–सहयोग जरुरी छ ।’ अन्न्पूर्ण पोस्टबाट

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार ०८:१०   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।