Logo

अर्थ

गभर्नरमा तीन जनाको रस्साकस्सी, आजै नियुक्तिको सम्भावना



नेपाल राष्ट्र बैंकको भावि गभर्नरको लागि तीन जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्रीको संयोजकत्वमा गठित समितिले डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी, पूर्व अर्थसचिव रामेश्वर खनाल र पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीको नाम भावि गभर्नरका लागि नाम सिफारिस गरेको हो ।

सोमबार बस्ने मन्त्रीपरिषको बैठकले भावि गभर्नरको नियुक्त गर्ने तयारी रहेको बताइन्छ । कोरोना भाइरसका कारण देशभर लकडाउन कायम रहेको र बजेटरी समस्या भन्दा पनि मौद्रिक समस्या बढी भएकोले गर्दा गभर्नरको ट्ड्कारो आवश्यकता महशुस गरिएको छ ।

समयमा नै गभर्नर नियुक्त हुन नसक्दा समस्या भइरहेको गुनासो बैंक तथा वित्तीय संस्थाले पनि गर्न थालेपछि समितिले तिनजनाको नाम सिफारिस गरेको हो । सिफारिस भएका तीन जना मध्य सिवाकोटी प्रधानमन्त्री ओली निकट मानिन्छन् भने लामिछाने अर्थमन्त्री खतिवडाका निकट हुन् भने खनाल अर्थमन्त्री र प्रधानमन्त्री दुबैका निकट मानिन्छन् । यसले पनि राष्ट्रबैंकको भावि गभर्नर को बन्छन् भनेर अहिले नै भन्न सकिने अवस्था छैन ।

अधिकारी र शिवाकोटी नेपाल राष्ट्र बैंकको नै उत्पादन हुन् भने खनाल अर्थसचिव हुँदा नेपाल राष्ट्र बैंकको सन्चालक समितिमा रहेर काम गरेका थिए। उनले अर्थमन्त्रालयका प्रतिनिधित्व गर्ने हुँदा अर्थमन्त्रीले चाहेको निर्णय समितिबाट गराउने काममा मुख्य भुमिका खेलेका थिए। अर्थमन्त्रीलाई हरेक काममा सघाउ पुर्याएकाले पनि खनालको नाम गभर्नरको लागि सिफारिसमा परेको हो।

शिवाकोटी गत चैत ५ गतेदेखि कामु गभर्नरको जिम्मेवारीमा छन्। उनको पहलमा राष्ट्र बैंकले कोरोना भाइरसले समस्यामा परेका ऋणीलाई सहुलियत दिन प्याकेज ल्याएको थियो।

त्यस्तै लगानी बोर्डका सिइओ समेत रहेका महाप्रसाद अधिकारी यसअघि पनि गभर्नरमा सिफारिस भइसकेका थिए। उनी निवर्तमान गभर्नर डा.चिरन्जीवी नेपालसँगै गभर्नरका लागि डा.रामशरण महत अर्थमन्त्री हुँदा सिफारिसमा परेका थिए।

नेपाल राष्ट्र बैंकमा गभर्नर हुदा डा. युवराज खतिवडालाई सफल बनाउन अधिकारीको मुख्य भूमिका रहेको डा.खतिवडाले नै भन्दै आएका छन्। डा.खतिवडा गभर्नर हुँदा इतिहासमा नै पहिलो पटक वित्तीय क्षेत्रको ठूलो सुधार भएको थियो।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार १३:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।