Logo

प्रमुख समाचार

वैदेशिक रोजगारीमा खाडी गएका नेपाली नागरिकलाई तत्काल स्वदेश फर्काउन दवाव



वैदेशिक रोजगारीको शिलशिलामा खाडी राष्ट्रमा रहेका नेपाली नागरिकलाई तत्काल स्वदेश फर्काउनु पर्ने दवावमा नेपाल सरकार परेको छ ।

प्रायः खाडी मुलुकहरूले आफ्ना नागरिकलाई फिर्ता लैजान कुटनैतिक च्यानल मार्फत नेपाल सरकारलाई दवाव दिन थालेको सार्वजनिक भएको छ । रोजगारदाता मुलुकहरूले दवाव दिएपछि लाखौं नेपालीलाई कसरी नेपाल फर्काउने भन्नेबारेमा नेपाल सरकार अप्ठेरोमा परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारदाता मुलुकका समकक्षीहरूसँग एकपछि अर्को गर्दै पटकपटक टेलीफोन संवाद गरेर आफ्ना नागरिकहरूको सुरक्षाका लागि अनुरोध गर्दै आएका भए पनि रोजगारदाता खाडी मुलुकहरूले आफ्नो देशमा कुनै कम्पनीहरू चल्न नसकेकाले वेरोजगार भएका कामदारहरू पाल्न नसक्ने भन्दै आफ्ना नागरिकहरूलाई फिर्ता लैजान दवाव दिएका हुन् ।

यूएईले फिर्ता जान चाहेका नागरिकलाई सम्बन्धित देशले फिर्ता नलागे श्रम सम्झौता नै खारेज हुनसक्ने चेतावनी नै दिइसकेको छ भने कुवेतले सात हजार नेपालीलाई तत्काल नेपाल फर्काउन दवाव दिएको छ । त्यो सँगै अन्य खाडी मुलुकले पनि नेपालीलाई नेपाल फर्काउन दवाव दिंदै आएका छन् । नेपाल सरकारका अनुसार ७० हजारजति नेपाली नागरिकलाई तत्कालै नेपाल उद्वार गर्नु पर्ने अवस्था आएको छ ।

कोरोना भाइरसले विश्वव्यापी स्वास्थ संकट ल्याइरहेको समयमा खाडी राष्ट्रबाट नेपाली कामदार फिर्ता गर्नुपर्ने बाध्यताले नेपाललाई ठूलो आर्थिक संकट समेत निम्तिने अनुमान गरिएको छ । रोजगारदाता मुलुकहरूबाट धेरै दवाव आउन थालेपछि नेपाल सरकारले परराष्ट्र सचीव शंकरदाश वैरागीको संयोजनमा वैदेशिक रोजगार विभाग र अन्य सरोकारवाला मन्त्रालयका उच्चअधिकारीबिच विशेष छलफल समेत भएको थियो ।

विशेष छलफलको निष्कर्षपछि वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले आफ्नो संयोजकत्वमा सरोकारवालाहरूसँग वैशाख १ गते विशेष बैठक गरी जबर्जस्ती फिर्ता गराइन लागेका कामदारहरूलाई नेपाल ल्याउने वा नल्याउने भन्नेमा छलफल थालेका छन् ।

रोजगारदाता मुलुकहरूले तत्कालै फिर्ता ल्याउन दवाव दिएका करिबकरिब ५० देखि ७० हजार नागरिकलाई नेपाल ल्याउनुपर्ने अवस्था छ । अरू देशहरूले पनि कलकारखाना बन्द भएको कारण कामदार राख्न नसक्ने भएकोले तिनलाई पनि क्रमशः फिर्ता ल्याउने सरकारको तयारी छ । तर कसरी र कहिले ल्याउने भन्ने यकिन भने छैन् ।

श्रम मन्त्रालयका अनुसार कति युवा फर्किने र तिनलाई कसरी काम दिने भने समस्यामा समेत परेको छ । उच्च सरकारी स्रोतका अनुसार कोरोना भाइरसको संक्रमण दुई महिना भन्दा लामो समय जारी रहे २० देखि ३० लाख नेपाली नेपाल फिर्ता ल्याउनुपर्ने दायित्व आउनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलवार १०:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।