Logo

प्रदेश

महोत्तरीमा शंकास्पद रुपमा ४ जनाको मृत्यु, गाउँले त्रासमा



महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँलेमा त्रास बढेको छ ।

सार्वजनिक समाचार अनुसार एकपछि अर्को गरी स्थानीयवासी ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र ५२ वर्षीय गङ्गाराम सदाको मृत्यु भएपछि अहिले गाउँमा त्रास उत्पन्न भएको हो । स्थानियका अनुसार चारैजनाले रक्सी पिउने गरेका र गाउँमा अत्यधिक मात्रामा रक्सी उत्पादन भइरहेकाले उनीहरुको विषाक्त रक्सी सेवनबाट मृत्यु भएको हुन सक्ने जनाइएको छ ।

यस सन्दर्भमा महोत्तरीका प्रहरीका अनुसार उनीहरुको मृत्यु दुई/तीन दिनको अन्तरालमा भएको खबर पाएको तर शव परीक्षण नगरी उनीहरुको मृत्यु रक्सी सेवनबाटै भएको निष्कर्षमा पुग्न नसकिने बताए ।

प्रहरी जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार घटनाको जानकारी प्राप्त भएलगत्तै सो गाउँमा व्यापक प्रहरी परिचालन गरेर बुझ्न लगाउँदा मृतकमध्ये ३ जनाको आफन्तले दाहसंस्कार गरिसके पनि मृतक लालबाबु सिंहको शव बुधबार प्रहरीले जलाउनुअघि नै नियन्त्रणमा लिइसकेको तथा परीक्षणका लागि अस्पतालमा पठाएको बताए ।

यसैबीच विषाक्त रक्सी सेवनबाट उनीहरुको मृत्यु भएको अड्कलबाजी भइरहेकै अवस्थामा प्रहरीले मृतकमध्ये लालबाबु सिंहको घरबाट रक्सी बरामद गरेको छ भने स्थानीय रामपुकार सिंहको घरमा मदिरा बनाउने भट्टी तथा मदिरा तयार गर्न राखिएको ८०० लिटर कच्चा पदार्थसमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार १५:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।