Logo

प्रदेश

नेपालका तीन जिल्लामा भारतबाट प्रवेश गर्‍यो सलह !



भारतसँग सीमा जोडिएका तीन जिल्लामा सलह प्रवेश गरेका छन् ।

बारा, पर्सा र सर्लाहीमा शनिबार बिहान सहलको झण्ड भारतबाट प्रवेश गरेको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका अनुसार बाराको डुमरवानासहितका दुई स्थान, पर्साको पर्सागढी तथा सर्लाहीको नलवपुर क्षेत्रमा शनिबार बिहान ७ देखि ८ बजेको बिचमा सहलको झुण्ड भारतबाट प्रवेश गरेको जानकारी आएको छ । कस्तो खालको सहल हो र संख्या कति छ भन्ने थाहा पाउनका लागि स्थानीय विज्ञहरु सो क्षेत्रमा जानुभएको छ।

मरुभूमि सलह हो वा अरु प्रकारको सहल हो भन्ने यकिन नभएको र यसबारे अध्ययन गरेपछि मात्रै थाहा हुने प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ । ठूलो संख्यामा नरहेको प्रारम्भीक जानकारी रहेको र यी सहल आप्रवासी हुन सक्ने केन्द्रको आकलन छ ।

नेपाल छिरेका सलहहरु अहिले रुख तथा जमिनमा बसेको जानकारी आएको जनाइएको छ । पश्चिमबाट पूर्व तिर बहेको हावा केही दिनअघि अचानक दक्षिणबाट उत्तर तिर बहेकाले सहलको झुण्ड तितरवितर भएर नेपाल आएको हुन सक्छन् ।

सलह प्रवेश गरेको तथा यसपछिको कार्ययोजनाबारे शनिबार दिउँसो छलफल हुने प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ ।

केही समयअघि अफ्रिका हुँदै भारतसम्म आएको सलहको हुल नेपाल पनि प्रवेश गर्न सक्ने सम्भावना रहेको भन्दै कृषि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो ।

सो कार्यदलले बनाएको कार्ययोजना अनुसार नै अब काम हुने बताइएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार १२:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।