७ असारमा संसदको राज्य व्यवस्था समितिले नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले यसको विरोध गर्दै दुबै पार्टीले संसदमा छुट्टाछुट्टै फरक मत समेत दर्ता गराएका छन् ।
यस्तोमामा जनता समाजवादी पार्टीका धनुषा युवा अध्यक्ष सुनिलकुमार श्रेष्ठले अंगीकृत नागरिकताधारीलाई कुनै पनि राजनैतिक अधिकार दिन नहुने बताएका छन् । अनलाइनपाना सँग कुरा गर्दै युवा नेता श्रेष्ठले ‘अंगीकृत नागरिकका कारण मधेसका नागरिकले राजनैतिक अधिकार गुमाउँदै गएको कारण पनि अंगीकृत नागरिकता प्राप्त नागरिकलाई राजनीतिक अधिकार प्रदान गर्न हुँदैन ।’ उनले भने ।
‘पछिल्लो समय ‘एक हातमा सिन्दुर अर्को हातमा नागरिकता’ भन्ने कुरा निकै चर्चामा छ । विवाह गरिसकेपछि नागरिकता दिन यति वर्ष वा उति वर्ष कुर्न लगाउन भन्दा पनि अंगीकृत नागरिकता प्राप्त गरेकाहरूलाई राजनैतिक अधिकार नदिएर उसका सन्ततिलाई राजनीतिक अधिकार दिंदा सबैभन्दा बुद्धिमतापूर्ण कार्य हुन्छ ।’ उनले भने ।
नागरिकता विधेयकलाई लिएर आन्दोलनको चेतावनी दिइरहेको जनता समाजवादी पार्टीका युवा नेताको यो अभिव्यक्तिले स्वयं विधेयकको विरोधमा आन्दोलनको अग्रपंक्तिमा खटिने युवा नेतृत्वको विचारले पक्कै झस्काएको भने हुनुपर्छ । पार्टीको लाइन भन्दा बाहिर गएर बोल्दा पार्टीको कार्वाहीको सामना गर्नुपर्ला नि भन्ने प्रश्नमा ‘राष्ट्रियता पार्टी भन्दा ठूलो नभएको’ उनको भनाइ छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकतामा महिला पुरुषमा विभेद नगर्न भन्दै विधेयकको विरोध गरिरहेको समयमा ‘अहिलेको समयमा विदेशी ज्वाईं पाल्ने राष्ट्रको क्षमता छैन्, अझ मधेसको वास्तविकता कांग्रेसले पनि बुझ्नुपर्छ ।’ उनले भने ।
सीमापारबाट बिहे गरेर आएका अंगीकृत नागरिकताधारीका कारण वर्षौंदेखि मधेसमा बसोबास गरिरहेका नागरिकले आफ्नो अधिकार गुमाउनु परेको भन्दै राज्यले यस्तो संवेदनशील विषयमा अध्ययन गरेरै निर्णय गर्ने विश्वास रहेको उनको भनाइ छ ।
अहिलेकै जसरी अंगीकृत नागरिकताधारीलाई राजनैतिक अधिकार दिंदै जाने हो भने स्थानीय सरकार देखि संघीय सरकारमा समेत अंगीकृतहरूको बाहुल्यता हुनसक्ने उनको चेतावनी छ ।





















प्रतिक्रिया