Logo

अर्थ

दाङको तुलसीपुरमा दूध तथा दुग्धजन्य उत्पादनको मूल्य बढ्यो



दाङको तुलसीपुरमा दूध तथा दुग्धजन्य उत्पादनको मूल्य बढेको छ । तुलसीपुरका डेरी व्यवसायीहरूको शुक्रबार बसेको बैठकले शनिबारदेखि लागू हुनेगरी दूध तथा दुग्धजन्य उत्पादनको मूल्य बढाउने निर्णय गरेको हो ।

अबदेखि एक लिटर दूधको खुद्रा मूल्य ८० रुपैयाँ र दहीको खुद्रा मूल्य ९० रुपैयाँ पर्ने भएको छ । दाङको घोराही क्षेत्रमा गत वर्षदेखि नै दूध प्रतिलिटर ८० रुपैयाँ र दही प्रतिलिटर ९० रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, एक किलो घ्यूको खुद्रा मूल्य एक हजार दुई सय रुपैयाँ र एक किलोग्राम पनिरको मूल्य सात सय रुपैयाँ निर्धारण गरिएको गणेश डेरी उद्योगका सञ्चालक विनिल केसीले जानकारी दिए । बैठकले किसानबाट डेरी उद्योगले खरिद गर्ने दूधको मूल्य समेत निर्धारण गरेको छ ।

प्रति फ्याट ६ रुपैयाँ र प्रति एसएनएफ तीन रुपैयाँ १९ पैसामा थप अधिकतम कमिसन १४ रुपैयाँ जोडेर दूधको खरिद मूल्य निर्धारण गर्ने निर्णय भएको साकार सौरभ डेरी उद्योगका सञ्चालक साकार खड्काले जानकारी दिए । तर मंसिर, पुस र माघमा भने थप कमिसन १४ रुपैयाँ दिन डेरी व्यवसायी बाध्य नहुने निर्णय पनि गरिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आईतवार १०:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।