नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ब्रोकरलाई तोकिए बमोजिमको हार्डवेयर तथा सफ्टेवयरसहित डाटा सेन्टरको क्षमता बढाउन निर्देशन दिएको छ । नेप्सेले ब्रोकरमार्फत हुने अनलाइन कारोबार सिस्टम (नट्स) प्रभावकारी नभएको भन्दै उक्त निर्देशन दिएको हो । नेप्सेले ब्रोकरहरुलाई प्राविधिक जनशक्ति बढाउन पनि निर्देशन दिएको छ । हाल अनलाइन कारोबार गर्न सदस्य दलालबाट युजरनेम र पासवर्ड लिने लगानीकर्ताको संख्या ४० हजार पुगिसकेको छ । यस्तो अवस्थामा ब्रोकरहरुले आफ्नो क्षमता विस्तार गर्नुपर्ने उसको भनाइ छ ।
ब्रोकर कार्यालयमा सुपरीवेक्षण तथा अनुगमन गर्दा केही ब्रोकरले तोकिएका व्यवस्था नगरेको तथा ग्राहकलाई उचित सेवा प्रदान नगरेको देखिएको पनि नेप्सेले बताएको छ । ती ब्रोकरहरुलाई कमीकमजोरी तुरुन्त सच्चाएर लगानीकर्तालाई सहज सेवा उपलब्ध गराउन पनि भनेको छ । लगानीकर्तालाई अनलाइन कारोबार गर्न सिकाउनु ब्रोकरको कर्तव्य भएको भन्दै यस सम्बन्धी निर्देशिका नेप्सेले ब्रोकरलाई उपलब्ध गराइसकेको छ ।
ग्राहकलाई अनलाइन कारोबार गर्ने गरी युजरनेम र पासवर्ड उपलब्ध गराउनुअघि यो सञ्चालन गर्ने तरिकाबारे ब्रोकरले लगानीकर्तालाई सिकाउनुपर्ने नेप्सेले बताएको छ । लगानीकर्तालाई उपलब्ध गराइएको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालन तथा व्यवस्थापन गर्ने पहिलो जिम्मेवारी ब्रोकरको रहेको बताएको छ । ब्रोकरले समस्या समाधान नगरे मात्रै नेप्से सपोर्टमा सम्पर्क गर्न पनि नेप्सेले लगानीकर्तालाई अनुरोध गरेको छ ।





















प्रतिक्रिया