Logo

साहित्य

कविता- इमानको खोजी



घरैभित्र घोत्लिएर
म, हिजो बाँडेको निष्ठा
कहिँ कतै
झुक्याएर भएपनि
अलिकति
बचेको छ कि ! भनेर
खोजीरहेको थिएँ ।
तर
मै भित्र मौलाएको
अवसरवादले
मलाई निष्ठा खोज्न
निशेध नै गरिदियो

…………………………….

भौंतारिएको मेरो मन
सुस्तरि इमान खोज्न
छरछिमेकतिर पस्यो
धेरै अनुनय विनय पश्चात्
पक्षघातले थलिएकी
दृष्टिविहिन,
सताब्दीको नजिकै
काल कुरेकी
हजुरआमाले
सुस्ताउदै भनिन् ,
नानी तिमी कुन जमानामा छौ ?
नुनले सुन साट्ने जमानको कुरा नगर !
त्यो बेला त पाप र धर्मले दुनियाँ चलेको थियोे !
अहिले त सिद्धान्तको नाम चपेर बेइमानले राज गरेका छन !
हजुरआमाका शब्द वाँणले
निशव्द म
चुपचाप निस्किएँ
………………………………

स्वाभिमान बचाउन छट्पटीएको मेरो मन
विस्तारै आलिसानको
महलतिर भित्रियो
चारैतिर सुनसान,
तर कुकुरहरूको
हार्दिकता र स्वागतले
रोमाञ्चित मैले
जेलका नेल र हत्कडी भन्दा
डर लाग्दा फलामे
दरबाजाभित्रै निसा लागेर
स्वाभिमान गुमाउदै बाहिरिनु पर्ने भयो
………………………………………………………

निष्ठा र स्वाभिमानको
यात्रा गर्दैगर्दा
इमानसगँको मित्रता गाँसियो
मित्रता सम्झेर
इमानसगँ मैले
विश्वास,हार्दिकता,सरलता
सगँसगैँ पवित्र भावको
अपनत्व खोजें
यहि कारण
उ र म विच
अन्तरविरोध जन्मियो

……………………………

मैल सोचें
निष्ठा हराएको बेला
स्वाभिमानको तोलमोल गरिसकेपछि
बेइमानहरूको भिडमा
मैले इमान खोजें
त्यसैले त म रित्तिएर फर्किएँ
एलिसानमा विरक्तिएँ
मित्रताको पवित्र सम्बन्धभित्र
विश्वासघात भेटाएँ
सत्ता र शक्तिको दुरुपयोगले
पिल्सिएको आमाको कोख
मानसिक पिडाले छट्पटीएको देखेर
आफैंले आफैंलाई धिक्कारेँ
अनि मेरै झुपडीको
शान्ति र सन्तुष्टिमा रमाउन फर्किएँ

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १५:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।