Logo

अर्थ

वाणिज्य बैंकका प्रत्येक शाखाले विदेशी मुद्रा खरीद गर्नुपर्ने, यस्तो छ नयाँ नियमावलि



राष्ट्र बैंकले वाणिज्य बैंकका प्रत्येक शाखाले विदेशी मुद्रा खरीद गर्नुपर्ने नियम बनाएको छ । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मार्फत् शाखाले विदेशी मुद्रा खरीद गर्नुपर्ने व्यावस्था गरेको हो । केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०६७ लाई खारेज गर्दै नयाँ विनियमावली ल्याएको छ । यही नयाँ विनियमावलीमा यो व्यावस्था समावेश गरिएको हो । बैंकहरुले विदेशी मुद्रा कारोबार गर्न शाखा अनुसार लाइसेन्स लिने व्यवस्था समेत खारेज गरी एउटै अनुमतिपत्रले नै काम गर्ने व्यवस्था गरेको छ ।

विनियमावली अनुसार बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रुपमा प्राप्त गरेको इजाजतपत्रको आधारमा आफ्ना शाखाहरूबाट विदेशी विनिमय कारोबार गर्न सक्नेछन् । विनियमावलीमा भनिएको छ, ‘शाखा अनुसार इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाले विनियमावली लागू भएको २ महिनाभित्र विदेशी विनिमय कारोबार गर्ने शाखाहरूको नाम, ठेगाना सहित नवीकरणका लागि निवेदन दिएमा सम्पूर्ण स्थानको लागि एउटै इजाजतपत्र दिइनेछ ।’

विदेशी विनिमय कारोबारका लागि इजाजतपत्र प्राप्त गर्न सम्बद्ध बैंकले एकमुष्ट रुपैयाँ ५ लाख रुपैयाँ बुझाउनुपर्ने छ । यसैगरी, राष्ट्रिय स्तरका विकास बैंकले १ लाख रुपैयाँ, प्रादेशिक स्तरका विकास बैंक र सबै स्तरका वित्त कम्पनीहरूले २० हजार रुपैयाँ केन्द्रीय बैंकलाई बुझाउनु पर्ने राष्ट्र बैंकद्धारा पारित सोही नियमावलिमा उल्लेख छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूलाई विदेशी विनिमय खरीद–बिक्री तथा तोकिए बमोजिमको विदेशी विनिमय सम्बन्धी अन्य कार्य गर्ने गरी ५ वर्षका लागि अनुमतिपत्र दिनेछ । विदेशी विनिमय कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले पनि कारोबार गर्न चाहे इजाजतपत्र लिन निवेदन दिन सक्नेछन् । यसरी निवेदन दिँदा कारोबार गर्ने स्थान वा क्षेत्र किटान गरी केन्द्रीय बैंकमा निवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार १०:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।