स्वास्थ्य मन्त्रालयले गरेको एक सर्वेक्षण अनुसार कोरोना भाइरसविरूद्ध खोप लगाएका ९० प्रतिशत मानिसमा एन्टिबडी विकास भएको छ । मन्त्रालयले २०७८ साल असार २१ गतेदेखि साउन ३० गतेसम्ममा संकलित नमूनामध्ये १३ हजार १६१ जनाको परीक्षण गर्दा दुबै मात्रा खोप लगाएका ९० प्रतिशत मानिसमा एन्टिबडी देखिएको उल्लेख गरेको छ ।
पहिलो मात्रा खोप लगाउनेहरुमा पनि ८० प्रतिशत एन्टिबडी विकास भएको मन्त्रालयले जनाएको छ । जसले गर्दा अहिले लगाइरहेका खोपहरू अत्यन्त प्रभावकारी रहेको मन्त्रालयको ठहर छ ।
त्यस्तै, समग्रमा देशभरिबाट संकलित गरिएको उक्त नमूनामध्ये ६८.६ प्रतिशत नमूनामा एन्टिबडी देखिएको छ । मन्त्रालयले सातै प्रदेश र हिमाल, पहाड, तराई, गाउँ, सहरलगायत सबै लिंग, उमेर, पेशा तथा समूहका मानिसहरूको नमूना संकलन गरेकोमा ती सबै समूहका मानिसहरूमा एन्टिबडी विकास भएको पाइएको हो ।
तर भाइरसले आफ्नो रूप परिवर्तन गरिरहने हुँदा संक्रमणबाट बच्नलाई भौतिक दूरी कायमलगायत आवश्यक सावधानी अपाउन मन्त्रालयले आग्रह गरेको छ । साथै, संक्रमणसँग मिल्दोजुल्दो कुनै पनि लक्षण भएमा स्थानीय तहसँग सम्पर्क गरी निःशुल्क परीक्षण गराउन पनि मन्त्रालयको अनुरोध छ ।




















प्रतिक्रिया