बजारमा एकाएक मर्जरको हल्ला चलाइएको र संस्थागत सुशासन विपरित कार्य गरेको भन्दै सगरमाथा इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले स्पष्टिकरण सोध्ने भएको छ । संचारमाध्यममा स्वाप रेसियो समेत सार्वजनिक भएपछि कम्पनीका संचालकहरुलाई समितिले स्पष्टिकरण सोध्ने तयारी गरेको हो ।
पछिल्लो समय कम्पनीका संचालकहरुले नै मर्जरका लागि स्वाप रेसियोमै छलफल भएको कुरा सार्वजनिक गर्न थालेपछि समितिमा बोलाएर यस विषयमा स्पष्टिकरण सोध्न लागिएको कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
दुबै कम्पनीले गएको वार्षिक साधारणसभाबाट मर्जरका लागि आवश्यक प्रकृया अगाडि बढाउन संचालक समितिलाई अख्तियारी दिने निर्णय पारित गरेपनि कुनै ठोस गतिविधि नबढेको कम्पनीकै कर्मचारीहरुले बताएका छन् ।
मर्जर जस्तो संवेदनशिल विषयलाई बाहिर चर्चामा ल्याएर सुशासन विपरितको काम भइरहेको समितिको ठहर छ । बजार बढिरहेको अवस्थामा मूल्य बढाउन कहिले हकप्रद त कहिले मर्जरका अनावश्यक हल्ला चलाउने काम भइरहेको भन्दै यस्तो गतिविधि नगर्न समितिले कम्पनीहरुलाई आग्रह गरेको छ ।
मर्जर नै गर्ने अबस्थामा प्रचलित ऐन नियम कानुन अनुसार अगाडि बढ्न सुझाव दिंदै समितिले मर्जरको विषयमा छलफल भइरहेको भए पनि अनावश्यक हल्ला नचलाउन अनुरोध गरेको छ ।





















प्रतिक्रिया