Logo

अर्थ

नेपालमा २६.८९ प्रतिशत जनसंख्यामा बीमाको पहुँच



बीमा समितिले नेपालमा २६.८९ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको विवरण सार्वजनिक गरेको छ । बीमा क्षेत्रकोे विवरण सार्वजनिक गर्दै समितिले अघिल्लो बर्षको तुलनामा गत आवमा बीमा गर्नेको संख्या बृद्धि भएको उल्लेख गरेको छ ।

समितिले २०७८ साउन मसान्तसम्ममा जीवन बीमालेख ८० लाख ९ हजार ६३४ वटा जारी भएको जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १३.४३ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, वैदेशिक रोजगारमा जानेहरूको बीमालेख भने ३२.९० प्रतिशतले कमी आएको छ । २०७८ साउन मसान्तसम्ममा वैदेशिक रोजगार बीमालेख ५ लाख ७७ हजार ४१० वटा जारी भएका छन् । उक्त बीमालेख अघिल्लो वर्ष २०७७ साउन मसान्तसम्ममा ८ लाख ६० हजार ५१९ वटा जारी भएका थिए ।

वैदेशिक रोजगार बीमा (म्यादी) बीमालेख र जीवन बीमालेख २०७८ साउन मसान्तसम्ममा ८ लाख ५८ हजार ७४४ वटा जारी भएको बीमा समितिले जारी गरेको विवरणमा उल्लेख छ । त्यस्तै, सो अवधिमा जीवन बीमाशुल्क एक खर्ब ६६ करोड १० लाख प्रिमियम बापत बीमा कम्पनीहरुले बीमा शुल्क उठाएका छन् । सो रकम अघिल्लो साउन मसान्तको भन्दा २७.३८ प्रतिशतले बढी हो ।

त्यसैगरि, निर्जीवन बीमा कम्पनीहरुले २०७८ साउन मसान्तसम्ममा दुई लाख ४१ हजार ८३७ वटा बीमालेख जारी गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले अघिल्लो साउन मसान्तभन्दा ०.१७ प्रतिशतले बढी बीमालेख बिक्री गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुले २०७८ साउन मसान्तसम्ममा बीमाशुल्कबापत १०.७४ प्रतिशत बढी उठाएका छन् । सो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २९ अर्ब ९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १६:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।