Logo

अर्थ

बैंकहरु तरलता अभावको चपेटामा, राष्ट्र बैंकसँग लिए सवा १३ अर्ब सापटी



राष्ट्रिय बजेट कार्यान्वयनमा नआउँदा यतिखेर बैंकहरु तरलता अभावको चपेटामा परेका छन् । कर्मचारीको तलव सुविधाबाहेक अघिल्लो सरकारले घोषणा गरेको बजेट कार्यान्वयन नहुँदा बैंकहरुमा निक्षेप घटिरहेको अवस्था छ ।

सरकारले अध्यादेशमार्फत ल्याइएको यसअघिको बजेटलाई परिमार्जन गर्नका लागि प्रतिस्थापन विधेयक ल्याउने तयारी गरिरहेको छ । अर्थ मन्त्रालयले नयाँ बजेट कार्यान्वयन नगर्न सबै मन्त्रालयलाई निर्देशन दिइसकेको परिवेषमा अहिलेसम्म कर्मचारीको तलब बाहेकका क्षेत्रमा खर्च हुन सकेको छैन । जसको कारण बैंकहरुमा निक्षेप घट्दै गएर तरलता अभाव हुन पुगेको हो ।

निक्षेप घटेर नगद अभाव भएपछि नयाँ कर्जा विस्तार त परैको कुरा, पैसा झिक्न आउनेलाई व्यवस्थापन गर्नकै लागि बैंकहरुले राष्ट्र बैंकसँग सापटी (एसएलएफ) लिँदै आएका छन् । एक सातासम्मका लागि पाइने यस्तो सापटीमा बैंकहरुले ५ प्रतिशत ब्याज तिर्नुपर्छ । यतिबेला अन्तरबैंक दर नै ४.८ प्रतिशत पुगेको छ।

‘साउनमा निक्षेप घटेकाले बैंकहरुलाई यतिबेला नगद मौज्दात अनुपात (सिआरआर) व्यवस्थापन गर्नका लागि केही समस्या भएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालले बताए । उनका अनुसार अहिले राष्ट्र बैंकसँग सापटी लिएर बैंकहरुले पैसा परिचालन गरिरहेका छन् ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सापटी रकम प्रयोग गर्नु सामान्य रहेको बताए । भदौ १७ गते मात्रै राष्ट्र बैंकबाट बैंकहरुले १३ अर्ब २५ करोड रुपैयाँ सापटी रकम (एसएलएफ) प्रयोग गरेका छन् । ढकालका अनुसार हाल बैंकहरुमा दैनिक तरलता रकम २१ अर्ब रुपैयाँ छ ।

सरकारी खर्च पनि पर्याप्त नहुनु, सरकारले राजश्व संकलन गर्दा बैंकहरुको पैसा राष्ट्र बैंकको खातामा सर्नु, आयातका लागि पैसा बाहिरिनु लगायतका कारणले बैंकहरुलाई यतिबेला सिआरआरको समस्या भएको ढकालले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार १६:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।