Logo

समाचार

चीनले नेपाललाई उपलब्ध गरायो कोरोनाविरुद्धको थप १६ लाख डोज खोप



चीनले अनुदान सहायता स्वरूप उपलब्ध गराएको थप १६ लाख डोज कोभिडविरूद्धको खोप सरकारलाई हस्तान्तरण गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरेकी हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै नेपालीलाई खोप दिइसक्ने योजनालाई पूरा गराउन सहयोग स्वरूप कोभिडविरूद्धको खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे ।

उनले त्यस अवसरमा हालसम्म चीन सरकारले नेपाललाई ३४ लाख सो खोप अनुदान सहायताको रूपमा उपलब्ध गराएको पनि जानकारी दिए ।

यस्तै, चिनियाँ राजदूत यान्छीले नेपाल सरकारको कोभिडविरूद्धको अभियानमा साथ दिन चीन सरकारले आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले २ दिनपछि चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख डोज कोभिडविरूद्धको खोप उपलब्ध गराउने जानकारी समेत दिइन् ।

राजदूत यान्छीले कोभिड निर्मूल गरी नेपालको सामाजिक, आर्थिक क्षेत्रलाई सहज बनाउन चीन सरकारले सकेको योगदान पुर्‍याउने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

स्वास्थ्य मन्त्री खतिवडाले चीन सरकारले नेपालमा कोभिड नियन्त्रणका लागि हालसम्म स्वास्थ्य सहायता सामग्री पनि अनुदान सहायता स्वरूप उपलब्ध गराउँदै आएको भन्दै धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार १५:२२   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।