यो तस्विर बबर शमशेरको परिवारको हो । अलि झोक्की स्वभावका बबर शमशेर राणा शासन समाप्तिपछि बनेको पहिलो मन्त्रीपरिषद्मा रक्षा मन्त्री बनेका थिए । यदि राणाशासन २००७ सालमा समाप्त नभएर केही समय अझै रहेको भए रोलक्रम अनुसार श्री ३ बन्थे । चन्द्र शमशेरका माहिला छोरा बबर शमशेरलाई पोखरेलीले पनि सम्झनु पर्ने आवश्यकता छ । उनले नै पोखरामा सार्वजनिक कलधारा स्थापना गरेर वस्ती विकाशको लागि महत्वपू्र्ण योगदान गरेका थिए ।
वि.सं. १९७७ मा बेलायतबाट मगाइएका आधुनिक कलधारा पोखराका प्रमुख १४ स्थानमा जडान गरेका थिए । यी धाराका पानीको श्रोत पोखराको पश्चिममा मुलको पानीलाई जम्मा गरेर
तीनवटा पानीको टंकी बनाइ वितरण गरिएको थियो । धाराको पानी जम्मा गरिएको स्थानको नाम नै पछि धारापानी रह्यो ।
वि.सं. १९६२ मा जन्मिएका जेठो छोरा बालशमशेरको केवल १४ वर्षको उमेरमा असामयिक निधन भएपछि उनकै सम्झनामा पोखरामा बालधारा जडान गरिएको थियो । तस्विरको दायाँ तर्फ उभिएका तिनै बालशमशेर हुन् । तस्विरको बायाँतर्फ उभिएका बबरशम्शेका माहिला छोरा मृगेन्द्र शम्शेर हुन् । नेपालको शिक्षाको बिकासमा प्रमुख भूमिका खेल्ने शिक्षा विभागको डाइरेक्टर तथा नेपालको पहिलो संग्रहालय शिलखानाका समेत डाइरेक्टर बन्नु भएका मृगेन्द्रशमशेर गोर्खा दलका प्रमुख एवं भारतीय चलचित्रका निर्माता समेत रहेका भरतशम्शेर, इतिहासकार सागरशम्शेर तथा जगदीशशमशेरका बुबा हुन् । बाबुले समाएर बसेका सबैभन्दा सानो बालक इतिहासकार एवं नेपालको महाभूकम्पका लेखक ब्रम्हशम्शेर हुन् ।
कुर्चीमा बसेकी जेठी छोरी चक्रधुर राज्य लक्ष्मी हुन् । उनको विवाह भारत गुजरातमा रहेको सानो राज्य गोन्दलका राजकुमार शिवराजसिंहजी भोजराजसिंहजी साहिवसंग भएको थियो ।
देशमा प्रजातन्त्र पश्चात केही समय पछि नै भारतको बंगलोरमा पलायन भएका बबरशम्शेर केही वर्षको भारत प्रवास पछि नेपाल फर्केका थिए । उनको २०१७ बैशाख ३० गते बबरमहलमा नै निधन भएको थियो ।
सुनिल उलक





















प्रतिक्रिया