Logo

प्रमुख समाचार

आजदेखि कोरोना विरुद्धको खोपको अतिरिक्त मात्रा दिइँदै



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ । कोभिड–१९ विरुद्धको पूर्णमात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयले जानकारी दिएको छ ।

अहिले लगाइरहेका खोप केन्द्रबाट नै लक्षित वर्गलाई अतिरिक्त खोपको मात्रा दिन लागिएको हो । मन्त्रालयले बालबालिकाले लगाउने खोप केन्द्रबाहेक सबै खोप केन्द्रबाट अतिरिक्त खोपको मात्रा दिइने जनाएको छ ।

मन्त्रालयका अनुसार मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सरका रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी सङ्क्रमण भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त मात्रा दिन लागिएको हो ।

बालबालिकाबाहेकका जहाँ–जहाँ खोप केन्द्र सुरु भएको छ अतिरिक्त खोप लगाउनका लागि लक्षित वर्गले चिकित्सकको सिफारिस तथा खोपको दुईवटा मात्रा लगाएको कार्ड लगेर जानुपर्ने छ । थप एउटा अतिरिक्त मात्रा खोप ‘बुस्टर डोज’ नभइ कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिलाई दिइने बताइएको छ ।
पहिले जुन खोप लगाएको हो, सोही प्रकृतिको खोप थप अतिरिक्त मात्राका रुपमा दिइने छ । कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एउटा मात्रा खोप दिन लागेको हो ।

प्रकाशित मिति : २० पुष २०७८, मंगलवार ०६:२८   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।