काठमाडौं– नेपाली कांग्रेसका नेता नैनसिंह महरले ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नु पर्ने बताएका छन् ।
थारु विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने संकट विषयक अन्तरक्रियाका प्रमुख अतिथिसमेत रहेका महरले देशमा फेरि कोरोना जोखिम बढेकाले बालबालिकालाई त्यसको सम्भावित खतराबाट बचाउनुपर्ने बताएका हुन् ।
’हामीले १८ वर्ष मुनीका सबै बालबालिकालाई खोपको उपलब्धता गराउन सकेका छैनौं ।
छिमेकी मुलुक भारतमा कोरोना तीव्र बनेसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ । र, पछिल्ला दिनमा नेपालमा समेत कोरोना बढ्दो छ। यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ,’ उनले भने । नेविसंघका पूर्व अध्यक्षसमेत रहेका महरले १५ दिन पहिलाको जस्तै वैकल्पिक विधि अपनाएर वा १५ दिनलाई हिउँदे बिदामा मिलाएर भए पनि शैक्षिक संस्था बन्द गर्नुपर्ने उनको सुझाव छ ।
सरोकारवालाहरूसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडो कोरोना रोकथामको नीति अवलम्बन गर्न आवश्यक रहेको महरले औँल्याए ।
राजनीतिक दलहरूले पनि स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने उनले बताए । सबै पार्टीका नेताहरूले पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर आफ्ना कार्यकर्ताहरूलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन लगाउनुपर्ने उनको सुझाव छ ।
कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य सावधानी र खोप नै सबैभन्दा उत्तम विकल्प भएकाले सरकारले सबैको पहुँचमा खोपको सहज उपलब्धतामा ध्यान दिनुपर्ने बताएका छन् ।
कार्यक्रममा सहभागी शिक्षा विद् एवं शिक्षा क्षेत्रका सरोकारवालाहरूले पनि कोरोनाको अर्को लहरबाट बालबालिकालाई जोगाउनका लागि केही दिन विद्यालय बन्द गर्नु नै उत्तम विकल्प हुने सुझाव दिएका थिए ।




















प्रतिक्रिया