Logo

समाचार

सिटामोल धेरै प्रयोग गर्नु हुन्छ? रक्तचापको खतरा!



काठमाडौं । नेपाली समाजमा सामान्यल बिरामीपर्दा सिटामोल प्रयोग हुनुलाई नौलो भएको छैन । सामान्य टाउको दुख्दा, रुघाखोकी लाग्दा वा ज्वरो आउँदा धेरैजसोले सिटामोलको प्रयोग नै गर्छन् ।

विश्वमा नै सामान्य दुःखाइको लागि प्रयोग हुने औषधीको रुपमा सिटामोल परिचित छ । कोरोना महामारीमा समेत यसैको प्रयोग अधिक देखिन्छ । तर, अत्यधिक मात्रामा सिटामोलको प्रयोग गर्नाले विभिन्न रोग निम्त्याउने एक अध्ययन प्रतिवेदनले जनाएको छ । दीर्घकालीन रुपमा दुःखाइ कम गर्न सिटामोलको प्रयोग गरिएमा उच्च रक्तचाप हुनसक्ने अध्ययनले देखाएको हो ।

एडिनबरा विश्वविद्यालयका अध्ययनकर्ताहरूले बिरामीलाई दीर्घकालीन रूपमा पारासिटामोल सिफारिस गर्नुअघि डाक्टरहरूले यसको जोखिम र फाइदालाई विचार गर्नुपर्ने बताएका छन् । उनीहरूले टाउको दुख्दा र ज्वरोका लागि पारासिटामोल सेवन गर्दा एक पटक सोचेर मात्र प्रयोग गर्न सुझाएका हुन् ।

त्यसमाथि पनि रक्तचाप भएका रोगीहरुलाई सिटामोलको प्रयोगले निकै हानि पुग्ने बताइएको छ । विश्वविद्यालयले रक्तचाप भएका र नभएका व्यक्तिमा अध्ययन गर्दा रक्तचापको समस्या भएकामा जटिल अवस्था देखिएको हो ।

उनीहरूलाई दुई साता दैनिक चार पटक एक ग्राम पारासिटामोल सेवन गर्न लगाइएको थियो । अर्को दुई साता उनीहरूलाई सेवनमा रोक लगाइएको थियो । परीक्षणमा पारासिटामोलले रक्तचाप बढाएको देखायो जुन हृदयाघात र मस्तिष्कघातको कारक भएको तथ्य निकालिएको हो ।

साथै, अध्ययनकर्ताहरूले चिकित्सकलाई बिरामीलाई नियमित पारासिटामोल सेवन गर्न दिँदा सकेसम्म थोरै मात्रा सिफारिस गर्न आग्रह गरेका छन् । रक्तचाप एवम् मुटुसम्बन्धी रोगबारे चनाखो रहन पनि सुझाव दिएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार ११:२८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।