हरेक वर्ष नारी दिवश धुमधामका साथ मनाइने गरेको पाइन्छ । फेसबुकका वालमा आम नागरिकदेखि ठूलाठूला पद सम्हालेका सबैले नारी दिवशको शुभकामना दिइरहेका छन् । नारी दिवशको शुभकामना दिनेको घुइँचो हेर्दा यस्तो लाग्छ, शुभकामना नदिनेलाई कानुनी कार्वाही हुने व्यवस्था गरिएको छ । नारी दिवशको शुभकामना दिएर नारीलाई महत्व दिएका छौँ भन्ने आशय देखाउनेहरु पनि त्यति नै छन् । तर के नारी दिवश शुभकामना लिन र दिनको लागि मात्रै बनाइएको हो र ? के यसको अरु कुनै महत्व छैन ?
हामीले सानैदेखि नारीले घर सम्हाल्नु पर्ने, आफ्नो घरका हर सदस्यको खुसीको लागि काम गर्नु पर्ने, घरमा रहेका पुरुषहरु बुवा, दाइभाइ, श्रीमानले भनेको अनुसार चल्नुपर्ने, घर परिवारले भने बमोजिम विवाह र पढाइ गर्नुपर्ने लगायतका कुरा सुन्दै आएका छौँ । यस्ता परिवेशमा हुर्केका हामी पनि त्यही अनुरुप जीवनयापन गर्दै आएका छौँ । अझ बुवा, काका, दाइ, श्रीमानको अगाडि नारीले बोल्नु हुन्न भन्ने कुरा आफ्नै घरका नारीबाट सिक्दै आएका छौँ । आफ्नो जीवनका महत्वपूर्ण निर्णयहरु अरुले गरेको भरमा आफ्नो अस्तिवलाई बिर्सेर बाँच्ने सबै नारीलाई नारी दिवशको शुभकामना दिइँदै छ । तर के ती सबैले नारी दिवशको शुभकामना मात्रै चाहेका छन् त ?
हिमा अधिकारी फालुङगे गाउँपालिकाकी उपाध्यक्ष हुन् । स्नातोउत्तर सम्म अध्ययन गरेकी उनले चुनाव जितेर आफ्नो कार्यकाल सम्हालेकी थिइन् । उनी पढेलेखेकी र क्षमतावान नारी हुन् त्यसैले चुनावमा जितेपछि समाजको लागि राम्रो काम गर्नुपर्छ भन्ने सोचका साथ उनी कार्यस्थलमा पुगिन् । कार्यलयमा काम गर्दा उनले भनेको काम कर्मचारीले गर्न मान्दैनन् । अध्यक्षले भनेको जस्तो काम पनि गर्दा उनीले भनेको काममा कर्मचारीले कहिले चासो देखाएनन् । उनीले यो अवस्था किन आयो भनेर विचार गर्दा, आफू नारी भएकै कारण यस्तो परिस्थिति भोग्नु परेको निष्कर्ष निकालिन् । यस्तै खप्तड देडेदह गाउँपालिकाकी उपाध्यक्ष कुन्ती साउद बूढाले पनि यस्तै समस्या भोग्नु पर्यो । आफ्नो क्षमताका आधारमा लडेर पद पाएका नारीहरुलाई आफ्नो घरको छोरी , बुहारी , श्रीमती , बहिनीकै रुपमा हेर्ने परिपाटी रहेकाले नेतृत्व गर्न गाह्रो भएको देखिन्छ । अझैैै पनि सभासम्मेलनमा बोल्दा ठूलो मानिसको अगाडि नारीले धेरै बोल्न आवश्यक छैन भन्ने मानसिकता भएका मानिसहरुले पद भएता पनि आफ्नो कुरा राख्न पाउने अधिकारबाट समेट बञ्चित गर्ने गरेको बूढाको अनुभव छ ।
तर काम गर्ने क्रममा उनीहरुले नारी भएकै कारण जुनप्रकारको अवस्थाको सामना गर्नुपर्याे त्यो अवस्था आज सामाजिक सञ्जालमा शुभकामना दिनेहरुले नै सिर्जना गरेका हुन् । आज पनि समाजमा नारीहरुले आफूले पाउनु पर्ने आधिकारको सदुप्रयोग गर्न पाएका छैनन् । पद पाएकाहरुले समेत पद अनुसारको जिम्मेवारी पाएका छैनन् । कसैकसैले लडेर लगेको जिम्मेवारी पूरा गर्ने प्रयासमा भोग्नु परेका समस्याले उनीहरुलाई निरास बनाइरहेको छ । सबै परिबन्धका बाबजुद जसले हिम्मत गरेका हुन्छन् उनीहरुलाई सहयो गर्नुको सट्टा झन् अफ्ठयाराहरुले घेर्न हाम्रो समाजमा सबै सधैँ तैयारी अवस्थामा बसेको पाइन्छ ।
कहिले छाउपडीको नाममा, कतै बालविवाह, बहुविवाहका त कतै नारी भएर जन्मिएकै कारण वर्षैदेखि नारीहरुले पीडा भोग्दै आइरहेका छन् । आज नारी दिवसको शुभकामना दिनेहरुले समाजमा रहेका छोरीहरूले आफू माथि भएका अन्यायको बारेमा बोल्दा, छोरी मान्छेको नै इज्जत जानेजस्ता मानसिकता पालेर बसेका छन् । अरुका छोरीहरुको कुरा छोडौँ उनीहरुले आफ्नै घरका नारीलाई सम्मान दिन सकेका छैनन् । श्रीमतिले खाना पकाएर परिवार पाल्ने, छोरीले बाबुआमाको इज्जत धान्ने, बुहारीले घरमा काम गरेर सबैलाई खुसी राख्ने, दिदीबहिनीले दाइभाइले भने अनुसार विवाह गर्नु पर्ने जिम्मेवारी बाँडफाँड गरेको समाजले नारी दिवशको शुभकामना दिएर दिवश मनाएको देख्दा अचम्म लागेको छ ।
समाजले संस्कार, रीतिरिवाज, परम्पराका नाममा नारी माथि गरेको विभेदको विरोध गर्दै केही नारीहरुले जीवन जिउन थालिसकेका छन् । अहिले नारीले हर क्षेत्रमा आफूलाई सक्षम र सबल बनाउने सवालमा काम गर्न थालेको पाइन्छ । पितृसतात्मक सोच माथि विजय पाउँदै आफ्नो अस्तित्वको खोजीमा अघि बढेका र आफ्नो सपनाको लागि संघर्षरत सबै नारीलाई साथ र हौसला दिनु समाजमा रहेका हरेक व्यक्तिको दायित्व हो । यो जिम्मेवारी पुरा गर्ने सबैलाई नारीले उच्च सम्मान दिनेछन् । एउटा घर त तेतृत्व लिन सक्ने नारी बिना घर बन्न सक्दैन भने एउटा सुन्दर समाजको कल्पना कसरी गर्न सकिन्छ र ?
त्यसैले नारी दिवशको अवसरमा शुभकामना मात्रै हैन नारीहरुले गरेको कामको लागि सम्मान पनि दिऊँ ।





















प्रतिक्रिया