Logo

खेलकुद

प्रथम टी-२० मेयर कप क्रिकेटको उपाधि राजविराजलाई



सप्तरी । मदेश प्रदेशको राजविराज सप्तरीले प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा उपाधि जितेको छ । उपाधि जितेको राजविराजले नगद १ लाख १ हजार तथा ट्रफि हात पारेको हो ।

विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको सहकार्यमा विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा आज भएको फाइनल खेलमा मदेश प्रदेशकै जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै उपाधि जितेको हो । उप विजेता जनकपुरले ५१ हजार र ट्रफि मा चित्त बुझाउनु परेको थियो ।

टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९७ रनको सामान्य स्कोर खडा गरेका थिए। राजविराजकालागि नेपालको अन्तर्राष्ट्रिय ब्याटर विवेक यादवले २१ बनाउँदा पूर्व अन्तर्राष्ट्रिय ब्याटर महबुब आलमले १४ रन,अभिहेक कार्कीले १३ रन र अमित यादवले ११ रन बनाए । 

जनकपुरका सुमन राँयले ४ ओभरमा ९ रन  दिएर ३ विकेट लिँदा सुजित मण्डल र रुपेश यादवले२–२ विकेट तथा विशाल सुस्लिङले १ विकेट लिए ।
९८ रनको सामान्य रनको लक्ष पाएको जनकपुरले पुरै २० ओभर खेल्दै ८७ रनमा सीमित भएको थियो । जनकपुरकालागि विशाल सुस्लिङले ३३ रन जोड्दा विक्रान्त यादवले अविजित १९ रन तथा अकबर अलि र रञ्जित यादवले ११–११ रन जोडेका थिए । 

राजविराजका विकाश दासले ३ विकेट लिँदा नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादवले २ विकेट र विश्वकिर्तीमानधारी बलर महबुब आलम १ विकेट लिएका थिए।

फाइनल खेलको म्यान अफ द फाइनल राजविराजका अलराण्डर खेलाडी विवेक यादव घोषित भए । त्यस्तै म्यान अफ द सिरिज जनकपुरका हरिशंकर साह घोषित भए । उनले नगद ११ हजार पुरस्कार पाए । 

उत्कृष्ट ब्याटर राजविराजका विकाश दास र उत्कृष्ट बलर राजविराजकै अनिल यादव घोषित भए । उनीहरू दुवै जनाले नगद ५–५ हजार पुरस्कार प्रदान गरिएको थियो  ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार २०:३६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।