झन्डै दुई महिना सामाजिक सन्जालमा नायक पल शाह र गायिकाको प्रेम प्रसङ्गबारे विभिन्न गसिप छ्यापछ्यापती भए । भलै दुबैले प्रेम सम्बन्धको बारेमा अस्वीकार गरे पनि मानिसले उनीहरु बिच केही त अवश्य भएको छ भनेर अड्कल काटिसकेका थिए । यही अट्कललाई सही साबित गर्दै गायिकाले आफूमाथि यौनजन्य दुर्व्यवहार भएको भन्दै प्रहरीमा जाहेरी दिइन् ।
गसिप चल्नु र पल विरुद्द जाहेरी दिदाको बिचमा धेरै घटना भएको र ती मध्ये केही घटनाको बाहिर पनि आएका थिए । यी दुईले संगै काम गरेको ‘सूर्ती माड्दै’ भन्ने गीतको बोलपछि दुई बिचको सम्बन्ध प्रगाढ भएको उनीहरु निकट रहेका मानिसहरुले बताउँदै आएका छन् । केही समयको निकटता पछि पल गायिकासंग टाढिन थाले फोन नउठाउने, म्यासेज रिप्लाई नगर्ने जस्ता कार्यले पीडितलाई छट्पटाहट सुरु भयो र यस कुरा उनीलाई सह्य भएन । यसपछि उनले पललाई आफुसँग भएका फोटा र भिडियोहरु सार्वजनिक गरिदिने धम्की दिएको र यस कुराले आफूलाई अफ्ठ्यारो पर्न सक्ने बुझेर उनीसँग सम्झौता गर्न तयार भएको कुरा नायक र गायिका निकटस्थहरुले बताउने गरेका छन् ।
यसैबिचमा पलले पीडितलाई यस कुरालाई गुपचुप राख्न एक करोड रुपैँया सम्मको प्रलोभन दिएको कुरा विभिन्न सञ्चार माध्यममा पनि आएको थियो । आर्थिक प्रलोभन दिदाँ पनि पीडितले नमानेपछि नायक पलले केही मानिसको रोहबरमा उनी बालिग भएपछि बिहे गर्ने गरि लिखतसम्म गरेका थिए भन्ने कुरा जानकारीमा आएको थियो जुन कुरालाई पुष्टि गर्न बल पुग्ने गरि यस घटना पनि केही समयसम्म मथ्थर भएको थियो ।
तर यस पछि एकाएका मानिसहरु झस्किए जब सञ्चार माध्यममा पीडितले तनहुँ प्रहरीमा नायक पल विरुद्द यौनजन्य अपराधमा किटानी जाहेरी दिइन । यस लगत्तै विभिन्न महिला अभियन्ता, मानव–अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाले विज्ञप्ती निकाल्ने थाले । हेर्दा–हेर्दै सामाजिक सन्जाल पल र पीडितको पक्षमा दुई भागमा विभाजित हुन पुग्यो । कोई पललाई कारबाही हुनुपर्छ भन्दै लेख्दै सञ्जाल रङगाउन लागे भने कोही पल निर्दोष छन उनले न्याय पाउनु पर्छ भन्न लागे । यसै शिलशिलामा पलको पक्षमा देशका विभिन्न भागमा र्याली नै निस्कियो । फौजदारी अपराध अझ यौनजन्य अपराधको अभियोग लागेको मान्छेको पक्षमा नै दिन–दिनै जसो प्रदर्शन हुन लाग्यो जुन अस्वभाविक नै मान्नु पर्छ ।
त्यसपछि पल फरार भनेर पल अभिनित फिल्मका निर्देशक पक्राउ भनेर विभिन्न समाचारहरु आइरहे । यसैबिच पल शाह प्रहरीकोमा पुगेर आत्म–सर्मपण गरे भन्ने खबर बाहिरियो र यससँगै पल शाहको विरुद्दमा कानुनी कारबाही सुरु भयो । पल विरुद्द जाहेरी पर्दादेखि नै मानिसहरु के सजाय हुने हो भनेर अपराध संहिताको दफा पल्टाएर अड्कल काट्न लागिसकेका थिए । पल र ती गायिकाबीच भएको गोप्य कुराकानी भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै पल शाहले यसअघि नै उनीसँग सहमतिमा शारीरिक सम्बन्ध भएको स्विकारेका थिए र उनको यस स्वीकारोक्तीले मानिसको अड्कल र कानुनी अनुसन्धानमा केही सहजता ल्याएको थियो ।
आममानिसको अड्कल भने मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरे वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै किशोरीलाई करणी गरे निजले त्यस्तो महिला वा किशोरीलाई जवर्जस्ती करणी गरेको मानिने कानुनी व्यवस्था छ । सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी किशोरी भए १० देखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।
तर आम मानिसको सम्पुर्ण अड्कल र आज सम्मको अनुसन्धानलाइ नै माथ दिने गरी पिडित भनिने गायिकाले मात्र नभएर उनको परिवारले समेत अदालतमा आफ्नो बयान फेरेका छन्, उनीहरु होस्टाइल भएका छन । उनको यस कार्यले गर्दा धेरै मानिसहरु अच्चममा परेका छन । अब के हुन्छ भनेर धेरै मानिस बिलखन्दमा परेका छन् ।
बलात्कार मुद्दामा प्रायः महिला नै ‘होस्टायल’ हुने गरेको र यी किशोरी पनि प्रभावित भएको मानव अधिकार आयोगकि पूर्व सदस्य मोहना अन्सारी बताउँछिन । ‘यस्तो मुद्दामा धेरैले बयान फेर्ने गरेका छन् । हाम्रो अनुसन्धानको जुन शैली छ, त्यहीमाथि पनि एउटा प्रश्न उठ्न आउँछ । बलात्कारसम्बन्धी प्रतिवेदन भनेर लेखिएका सबै मुद्दामा महिला होस्टायल भएका छन्,’ उनले भनिन्, ‘अहिले जसले बयान फेरेकी छन् । ग्ल्यामर क्षेत्र जहाँबाट अथाह पैसा आउँछ । त्यहाँभित्रको शोषण कसैले देखेको थिएन । तर यो घटना बाहिर आइसकेपछि त्यो व्यक्तिले आफैंले दिएको बयान छ । मेडिकल रिपोर्ट छ । सबै कुरा लिखितमा छ । सरकारको आधिकारिक व्यक्ति, सरकारी वकिल, अदालत लागेको छ । यसअघि पनि अनेकन प्रलोभन दिइएको थियो । त्यो कुरा अडियोबाट पनि बाहिर आएको थियो ।’
आर्थिक र सामाजिक दबाबकै कारण किशोरीले बयान फेरेको धेरै मानवअधिकारवादी अभियन्ताको दाबी छ । ‘यस्तो अवस्थामा आर्थिक र सामाजिक रूपले दबाब हुन्छ । अदालतभन्दा अगाडि नै समाजले उनलाई गलत भनिसकेको थियो । उनको चरित्रमाथि नै प्रश्न उठाएका थिए,’ उनले भनिन्, ‘यो शक्तिशाली र कमजोरबीचको लडाइँ हो । पल शाह समाजका लागि हिरो हुन्, आइडल हुन् । उनका हजारौं फ्यान छन्, पैसा छ । त्यति हुँदाहुँदै पनि एउटा व्यक्तिले दिएको जाहेरी त अदालतले जाँच्नुपर्ने विषय हो नि । अदालतमा आएर जब उसले झूटो बयान दिन्छ । यस्तोमा हामीले पीडितको मानसिकता पनि बुझ्नुपर्छ । किशोरी बयान दिन आएको समयमा रोइरहेकी थिइन् । मन अत्तालिएको थियो । त्यतिबेला मानसिक रूपले तयार छैनन् भनेर बयान रोक्नुपर्ने थियो । त्यसको नतिजा उनी आफैंलाई थाहा छैन ।’
समाजशास्त्री नारायणी देवकोटा आर्थिक र सामाजिक कारणले महिला ‘होस्टायल’ हुने गरेको बताउँछिन् । ‘महिला अधिकारकर्मीसँग काम गर्नेक्रममा यस्ता मुद्दामा धेरै महिला होस्टायल हुने गरेको थाहा पाएँ । एक त महिलाको टेक्ने ठाउँ नै छैन । महिला आर्थिक रूपले कमजोर छन । अर्को त एक पटक बलात्कार÷बिहे भइसकेपछि महिलाको सबै जीवन नै सिद्धियो भन्ने सामाजिक मानसिकता छ । त्यसैले बिहे गर्ने, सँगै बस्ने लोभमा बयान फेर्छन्,’ उनी भन्छिन्, ‘हाम्रो समाजमा पीडितलाई साथ सहयोग गर्ने संयन्त्र एकदमै कमजोर छ । परिवारले पनि साथ दिँदैन । आर्थिक रूपमा सक्षम भए पनि बलात्कार महिलालाई त नै खराब होस् भन्ने खालको आरोप लगाइदिन्छन् । मुख्य समस्या समाजमै छ ।’
पलका पक्षमा मुद्दा लड्दै आएका अधिवक्ता भने वादी पक्षको प्रमाण कमजोर भएकाले पलले सफाइ पाउनेमा आशावादी छन् । ‘फौजदारी मुद्दामा वादीले आरोप लगाएर मात्र हुँदैन, प्रमाणित गर्नु पर्छ । यसमा वादीका पक्षबाट कुनै पनि किसिमको प्रमाण पेस गरिएन । पीडित भनिएकी किशोरीका बुवाले छोरीले भनेर थाहा पाएको भन्नुभएको छ । पीडितले दाबी गरेको घटना विवरण मात्र कागजमा छ । सुनेर, भनेर थाहा पाएको भन्ने मात्र छ । पीडितको भनाइमा पनि एकरूपता छैन । आज आएको कुरा त ठ्याक्कै उल्टै भयो । उहाँले बयान परिवर्तन गरिसक्नुभयो,’ उनले भने, ‘सैद्धान्तिक रूपले किशोरीले बयान फेर्दैमा सफाइ पाउँदैन । तर यो मुद्दामा अरू प्रमाण पनि छैन । जुन दिन बलात्कार भएको भनिएको छ, पछि मुचुल्का बनाउँदा केही प्रमाण पनि भेटिएको छैन ।’
२०७४ फागुनमा कर्णबहादुर साउदको मुद्दामा सर्वोच्चले ‘होस्टायल’ का आधारमा मात्र उन्मुक्ति दिन नमिल्ने फैसला ग¥यो । उक्त फैसलामा भनिएको छ, ‘कुनै व्यक्तिले आफू अपराधबाट पीडित भएको भनी जाहेरी दिएको, त्यसैका आधारमा जिम्मेवार निकायहरूबाट अनुसन्धान र अभियोजन भएको अवस्थामा पीडितले प्रतिकूल बकपत्र गरेकै आधारमा मात्र उक्त अपराध भएकै थिएन भनी निष्कर्षमा पुग्न मिल्दैन । समय व्यतित हुँदै जाँदा प्रतिवादीउपरको आक्रोश विस्तारै मत्थर हुँदै जाने, प्रतिवादी र पीडितहरू एउटै समाजमा बस्नुपर्ने, आर्थिक तथा सामाजिक कारण तथा कतिपय अवस्थामा पीडितलाई पर्याप्त मात्रामा सुरक्षा प्रदानसमेत गर्न नसक्दा पीडितले अदालतमा प्रतिकूल बकपत्र गर्न सक्छ, तर त्यसो भन्दैमा अपराधीलाई आपराधिक दायित्वबाट उन्मुक्ति दिन मिल्दैन ।’
सर्वोच्च अदालतका यी नजिरअनुसार पीडित व्यक्ति ‘होस्टायल’ भएकै आधारमा मात्र अभियुक्तलाई सफाइ दिन मिल्दैन । तर कतिपय जिल्ला अदालतका पछिल्ला फैसला भने यी नजिरअनुरूप देखिँदैनन । दबाबमा परेर पीडितले बयान परिवर्तन गरेकै आधारमा अभियुक्तलाई सफाइ दिने र अझ कतिपय अवस्थामा पीडितलाई उल्टै दण्डित गर्ने प्रवृत्ति देखिएको छ । यसले अपराधबाट पीडित बनेका अन्य महिलाले पनि न्याय खोज्न डराउने संस्कार विकास हुने जोखिम बढाएको छ ।
मुलुकी अपराध संहिता कार्यविधि दफा ४४ मा ‘आफूसाक्षी भई नेपाल सरकार, प्रहरी कर्मचारी वा अन्य अधिकारीलाई विश्वास पर्ने किसिमको कुनै कुरा वा सबुद प्रमाण देखाई पोल वा उजुर गरेकामा सोही आधारबाट अनुसन्धान भई अदालतमा मुद्दा चलिसकेपछि त्यस्तो कुरा वा सबुद वा प्रमाण झूटा वा बनावटी भएको कुरा उल्लेख गरी कसैको प्रतिवेदन, उजुरी परेमा वा बयान भएमा वा कुनै साक्षी वा जाहेरवालाको बकपत्र वा अन्य कुनै किसिमबाट देखिएमा अदालतले सोही मिसिलबाट प्रमाण बुझी झूटा कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने’ व्यवस्था छ ।
यी सबै नजिरबाट अब के फैसला हुन्छ कि अछाममा जस्तै न्यायाधीसले बयान फेरेको भनेर पिडित भनिएकि किशोरिलाई सजाय सुनाउछ कि पललाइ कारबाहि गर्छन ? यसको बारेमा अबको केहि दिनमै थाहा हुनेछ ।





















प्रतिक्रिया