विश्व स्वास्थ्य संगठनले ११ वटा देशहरुमा ‘मंकिपक्स’ का केसहरु फेला परेको जनाएको छ । संगठनले हालसम्म मंकिपक्सका ८० केस फेला परेको भन्दै संक्रमण बढ्न सक्ने भन्दै चेतावनी दिएको छ ।
संगठनले थप ५० वटा संदिग्ध केसहरुबारे अनुसन्धान भइरहेको पनि जनाएको छ । मंकिपक्सको संक्रमण सुरुवातमा बेलायत देखिएको थियो । पछि इटाली, स्पेन, स्वीडेन, पोर्चुगलका साथै अमेरिका र क्यानडामा पनि यो भाइरसको संक्रमण देखिएको थियो ।
यो संक्रमण विशेष गरि मध्य र पूर्वी अफ्रिकी क्षेत्रमा सामान्य रुपमा भेटिने गर्छ । अफ्रिकाबाट नै अन्य देशमा यो संक्रमण फैलिएको अनुमान गरिएको छ । बेलायतमा नाइजेरियाबाट फर्किएका व्यक्तिमा यो संक्रमण देखिएको थियो ।
यो भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने भएकाले खतरा कम रहने जनाइएको छ । यो भाइरसबाट संक्रमित हुनेहरुमा मध्यम खालका लक्षण देखिने र केही हप्तामा नै निको हुने बेलायतको नेश्नल हेल्थ सर्भिसले जनाएको छ ।
हालसम्म मंकिपक्सविरुद्ध कुनै भ्याक्सिन निर्माण भएको छैन । तर स्मलपक्सको लागि प्रयोग हुने भ्याक्सिन मंकिपक्सविरुद्ध ८५ प्रतिशत प्रभावकारी हुने बताइएको छ ।




















प्रतिक्रिया