Logo

प्रमुख समाचार

मङ्कीपक्स भाइरस डाबरमा सीमित छ ?



हाम्रो शरीरमा धेरै कारणले डाबर आउन सक्छ । एउटा कारण मङ्कीपक्स भाइरस पनि हो । तर डाबर मङ्कीपक्स हो वा होइन भनेर थाहा पाउन के–के कुरामा ध्यान दिनुपर्छ र के जाँच गर्नुपर्छ ? सबैभन्दा पहिले त हामीले आफैलाई सोध्नुपर्छः के म सङ्क्रमितको संसर्गमा पुगेको छु ? मङ्कीपक्स भाइरस सर्नका लागि सङ्क्रमितसँग नजिकको र लामो सम्पर्क हुनुपर्छ । विश्वमा अहिले यो सङ्क्रमण भएका मानिसहरूको सङ्ख्या निकै न्यून छ । जसको अर्थ हो यसको सङ्क्रमण भइहाल्ने जोखिम निकै कम छ । यो सङ्क्रमण फैलिइरहने अफ्रिकाका दुर्गम देशहरूमा पनि बालबालिकाहरूमा यसको सङ्क्रमण निकै कम छ । मङ्कीपक्स भयो भने सबैभन्दा पहिले ज्वरोजस्तै लक्षण महसुस हुनसक्छ। थकान लाग्छ र जीउ तातेर बिसन्चो हुन्छ । यसलाई चिकित्सकहरू शरीरका कोषहरूमा भाइरस प्रवेश गर्दा हुने “आक्रमण अवधि“ भन्छन् । हाम्रो रोगप्रतिरोधी क्षमता सङ्क्रमणविरुद्ध सक्रिय हुने भएकाले ग्रन्थिहरू सुन्निन थाल्छन् । त्यसपछि शरीरमा डाबर देखा पर्छन्। ती विभिन्न चरणमा “फुट्दै“ जान्छन् ।

सुरुमा छालामा रातो दाग मात्रै देखिन्छ र बिस्तारै छालामा खटिरो देखिन्छ अनि पाप्राहरू आउन थाल्छ । विश्व स्वास्थ्य सङ्गठनको आपत्कालीन कार्यक्रमका डा. रोसमण्ड लुइस भन्छन्, “यो रातो दागबाट सुरु हुन्छ । बिस्तारै डाबर बन्छ र हामीले छालामा छाम्दा पनि थाहा पाउँछौँ ।”

ती राता दागहरू बिस्तारै फोको जस्तो बन्छन् र पिपजस्तो सेतो तरलले भरिन थाल्छन् । यी खटिराहरू बिस्तारै सुक्न थाल्छन् र पाप्रा बन्छन्। पाप्राहरू पनि बिस्तारै उप्किएर जान्छन् ।

“यस कारण यो ठेउला हो कि भनेर झुक्किन सकिन्छ,“ डा. लुइस भन्छन् ।
मङ्कीपक्सको डाबर सबैभन्दा पहिले अनुहारमा देखा पर्छन् । कहिलेकाहीँ मुखमा पनि देखिन्छन् । त्यसपछि पाखुरा र खुट्टामा अनि जीउमा सर्दै जान्छन् । पछिल्ला केही सङ्क्रमणहरूमा भने डाबरहरू यौनाङ्ग वरिपरि पनि देखा परेका छन् । डा. लुइस भन्छन्, “रौँले ढाकिएका कारण डाबरहरू नदेखिन पनि सक्छन् ।”

छालाको रङ्ग अनुसार फरकफरक देखिने यो डाबरले तन्ना र लुगाहरूमा सङ्क्रमण छोड्न सक्छ । छाला रोगसम्बन्धी ब्रिटिस संस्थाकी सभापति डा. तान्या ब्लेकर भन्छिन्, “फरक प्रकारका डाबरहरू छुट्टाउन कठिन हुनसक्छ। यदि कुनै आशङ्का छ भने सल्लाह लिएर परीक्षण गराउनु उपयुक्त हुन्छ ।”
अरू के कारणले डाबर आउन सक्छ ?
डाबर आउने धेरै सम्भावनाहरू हुन्छन् तर त्यसमध्येका केही यस प्रकार छन् । छालाले कुनै कुराबाट खतरा ठानेर प्रतिक्रिया जनाउँदा उत्पन्न हुने चिलाउने राता डाबरहरू एलर्जी हुन् ।

यसको कारण कहिलेकाहीँ थाहा नहुन पनि सक्छ । तर निश्चित खानेकुरा वा कुनै बोटबिरुवा छुँदा तथा कुनै रसायन वा औषधिको कारण पनि यस्तो हुनसक्छ ।

ठेउला
यो डाबर निकै चिलाउँछ र धेरै चरण पार गरेपछि पाप्रा उप्किएर जान्छ । यसको सङ्क्रमण जीवनमा एक पटकभन्दा बढी पनि हुनसक्छ । बच्चा हुँदा ठेउला आइसकेको छ भने वयस्क भएपछि फेरि पनि आउन सक्छ । शरीरमा निष्क्रिय भएको ठेउला पुनः सक्रिय भयो भने पनि डाबर देखिन्छ । यस्तो हुँदा शरीरमा दुख्ने दागहरू देखिन्छन् ।

लुतो
लुतो कीटाणुले छालामा अण्डा पारेपछि आउँछ । यसका कारण छाला निकै चिलाउँछ र रातो हुन्छ ।

यसले शरीरको जुनसुकै ठाउँमा पनि डाबरहरू आउँछन् । प्रायःजसो चाहिँ औँलाको बीचबाट देखिन सुरु गर्छन् । छालामा राता धर्साहरू पनि देखिन्छ । धेरै सङ्क्रामक नभए पनि यसलाई निको पार्न उपचार जरुरी पर्छ ।

उडुस र किराको टोकाइ
हामीले प्रयोग गर्ने ओछ्यान र डसनामा उडुस सरेका छन् भने तिनले टोक्न सक्छन् । धेरै साना हुने भएकाले तिनलाई सजिलै देखिन्न । अरू किराहरूको टोकाइमा जस्तै यसको टोकाइले बन्ने डाबरहरू निकै चिलाउने र रातो हुन्छन् ।

उडुसको टोकाइबाट आउने डाबरहरू एकै भागमा धेरै वटा हुन सक्छन्।

यौन सङ्क्रमण
सङ्क्रमित व्यक्तिसँग यौनसम्पर्क राखेपछि सर्न सक्ने जीवाणु सङ्क्रमण भिरङ्गी हो । हर्पेस भनिने भाइरसको सङ्क्रमण पनि यौन क्रियाकलापबाटै सर्छ । यो भयो भने पनि डाबरहरू आउँछन् । यौन सङ्क्रमण भएको आशङ्का हुनासाथ छिटोभन्दा छिटो परीक्षण गरेर उपचार गर्नु राम्रो हो ।

मोलस्कम
यो बालबालिकाहरूमा देखिने भाइरल सङ्क्रमण हो । यो हानिकारक नभए पनि शरीरभरि फैलन्छ र चिलाउँछ। यसबाट आउने डाबरको बीचमा सानो खाल्डो हुन्छ । यसबाट आउने डाबरहरू काखीमा, घुँडाको पछाडि र गुप्ताङ्गको वरपर देखा पर्छन् । छालाको संसर्ग वा सङ्क्रमितले प्रयोग गरेका तौलिया वा वस्तुको प्रयोगबाट यो सर्न सक्छ ।

हात खुट्टा र मुखमा देखिने रोग
यो भाइरल सङ्क्रमण खकार र सिँगानबाट सर्छ । कहिलेकाहीँ सङ्क्रमण घरायसी प्रयोगका सामग्रीबाट पनि सर्न सक्छ । यसले पनि ज्वरो आउनेजस्ता लक्षण निम्त्याउन सक्छ । मुखमा खटिराहरू र हत्केला र खुट्टाको पैतालामा राता डाबरहरू पनि देखिन सक्छन् । यो प्रायः आफैँ निको हुन्छ ।

इम्पेटाइगो
छालामा हुने जीवाणु सङ्क्रमणबाट यसले रातो दागहरू बनाउनुका साथै मुखको वरपर मसिना बिमिराहरू बनाउँछ । यो देख्दा निकै जटिल जस्तो लागे पनि जीवाणु प्रतिरोधी मलमको प्रयोगबाट निको हुन्छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार १२:५४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।