Logo

खेलकुद

एन्फा चुनाव भोलि, अध्यक्षमा कसले मार्ला बाजी ?



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि भोलि (सोमबार) निर्वाचन हुँदैछ । बुढानिलकण्ठस्थित पार्क भिलेजमा हुने निर्वाचनको सोही साँझ आउने नतिजासँगै एन्फाले २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ ।

आगामी चार वर्ष एन्फा हाक्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आ–आफ्नो समूहसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

यस्तै फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेल समेत प्रतिस्पर्धामा छन् । चुनावको लागि अध्यक्ष पदमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३६ तथा दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

२१ सदस्यीय कार्यसमिति चयनका लागि एन्फाको वैधानिक व्यवस्थाअनुसार जिल्ला फुटबल संघ, विभिन्न श्रेणीका क्लब तथा प्राविधिक संघहरु गरी कुल ८४ संस्थाले मतदान गर्ने पाउनेछन् ।

जसमा ४८ मध्ये ४४ जिल्लाले मताधिकार पाउँदा सहिद स्मारक ‘ए’ डिभिजन क्लबका १४, ‘बी’ डिभिजनका १४ मध्ये ११, ‘सी’ डिभिजनका १४ मध्ये ९ तथा राष्ट्रिय लिगका लागि छनोट भएर पनि दुई वर्षअघिदेखि खेल्न नपाएका चार क्लबले मताधिकार पाउँछन् । यसैगरी महिला, खेलाडी, प्रशिक्षक र रेफ्री संघले पनि एकएक मताधिकार पाएका छन् ।

चार वर्षअघि भएको एन्फा निर्वाचनमा कर्मा र पंकज समूह नै ‘क्लिन स्विप’ गर्दै एन्फा हाँक्न आएको थियो । तर दुवै समूह विभाजन हुँदै यसपटक एक अर्काविरुद्ध लड्दैछन् ।

प्रकाशित मिति : ५ असार २०७९, आईतवार १३:३६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।