पोखरा । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पोखरास्थित आन्तरिक राजस्व कार्यालयले लोट्रीमार्फत पुरस्कार विजेता घोषणा गर्ने भएको छ । मंसिर १ देखि १५ गतेसम्म कार्यक्रममा सहभागी भएका उपभोक्ता तथा बिक्रेतामध्येका विजेताको नाम मंसिर १६ गते सार्वजनिक गरिने कार्यालयले जनाएको छ ।
पोखरा उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम आयोजना गरी लोट्रीको नतिजा सार्वजनिक गर्न लागिएको हो ।
बिल माग्ने र दिने संस्कारको विकास गर्दै कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले उपहार कार्यक्रम सञ्चालन गरिएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख शिवप्रसाद ढुंगानाले जानकारी दिए ।
उनका अनुसार उपभोक्ताले १०० रुपैयाँ वा सोभन्दा बढी मूल्यका वस्तु तथा सेवा खरिद गर्दा प्राप्त बिलमार्फत कार्यक्रममा सहभागी हुन सक्नेछन् । त्यसका लागि आन्तरिक राजस्व विभागको वेबसाइटमा गई बिल नम्बर, बिक्रेताको स्थायी लेखा नम्बर (प्यान) लगायत आवश्यक विवरण प्रविष्ट गर्नुपर्नेछ ।
विद्युतीय भुक्तानीमार्फत हुने कारोबार भने कम्प्युटर प्रणालीबाटै स्वतः उपहार कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको ढुंगानाले बताए ।
कार्यक्रमअन्तर्गत पहिलो चरणमा १५ जना उपभोक्ताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, एक जना भाग्यशाली विजेताले १० लाख रुपैयाँको बम्पर उपहार जित्नेछन् ।
बम्पर उपहार रकममा नियमानुसार २५ प्रतिशत कर कट्टा गरी विजेतालाई ७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ । अन्य पुरस्कारमा पनि कर कट्टा गरी जनही एक लाख रुपैयाँ प्रदान गरिने कार्यालय प्रमुख ढुंगानाले जानकारी दिए ।



















प्रतिक्रिया