काठमाडौं । काठमाडौं उपत्यकामा हैजा फैलने जोखिम बढेको छ । हालसम्म २ जनामा हैजा पुष्टि भइसकेको छ भने ४ जनामा संक्रमणको आशंका गरिएको छ । उनीहरू सबैको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ । हैजा पुष्टि भएका २ जनाको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
भर्ना भएका बिरामीहरूमा ३–४ पटक चौलानीजस्तै पखाला लाग्दा नै कमजोर बनाउने अवस्था रहेको टेकु अस्पतालकी निर्देशक डा. मनीषा रावलले बताइन् । संक्रमणका आधारमा उपत्यकामा हैजा फैलिइसकेको उनको आशंका छ । हैजाको आशंका गरिएका ४ जनाको दिसाको ‘कल्चर’ रिपोर्ट आउन बाँकी रहेको उनले बताइन् ।
उनका अनुसार भिब्रियो कलेरी ब्याक्टेरियाबाट संक्रमित दूषित खाना वा पानी पिउँदा हैजा लाग्न सक्छ । महामारीको समय भने हैजा संक्रमित व्यक्तिको दिसाबाट फैलन्छ । संक्रमण भएको २४ घण्टादेखि ५ दिनसम्ममा यसको लक्षण देखिन सुरु हुन्छ । लक्षण देखिएको ३–६ घण्टाभित्रै यसले घातक रूप लिन सक्छ ।
हाल टेकुमा भर्ना भएका संक्रमित र शंकास्पद बिरामीहरूमा स्वास्थ्य जटिलता र ढिलो गरी निको हुने अवस्था देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वमा हरेक वर्ष हैजाका १३ लाखदेखि ४० लाख केस पहिचान हुने गरेको र त्यसले करिब डेढ लाखको ज्यान लिने गरेको छ ।




















प्रतिक्रिया