सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको छ । ‘बर्डफ्लु’ पुष्टि भएपछि नियन्त्रण गर्न संक्रमित क्षेत्र घोषणा गरेर डिस्पोजल टोली परिचालन गरिएको छ । बिहीबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ का स्थानीय टेकराज आचार्यको पंक्षी फर्ममा रहेका टर्कीमा ‘बर्डफ्लु’ पुष्टि भएको थियो ।
बर्डफ्लु देखिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको आकस्मिक वैठकले ती पंक्षीहरु तत्काल नष्ट गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार प्रभावित स्थलमा पंक्षीहरु नष्ट गर्नका लागि रिभ्यु रेस्क्यू टिम पठाइसकिएको छ ।
प्रजिअ रिजालका अनुसार पूर्वमा हरिडिल भूमि मावि जाने बाटो, पश्चिममा राना टोलको पिच बाटो, उत्तरमा जुम्ला रोड र दक्षिणमा राना टोलको ग्राभेल बाटो भित्रको एरियालाई बर्डफ्लु संक्रमित क्षेत्र घोषणा समेत गरिएको छ ।
बर्डफ्लु भेटिएको फर्ममा एक हजार ५ सय टर्की रहेका छन् । प्रजिअ रिजालले पंक्षी तथा पंक्षीजन्य व्यवसायबाट संलग्न व्यवसायी तथा आम उपभोक्ताले सतर्कता अपनाई व्यापार, व्यवसाय सञ्चालन गर्न तथा उपभोग गर्न अनुरोध गरेका छन् । पशु चिकित्सकको टोली सो क्षेत्रमा गएर थप अनुसन्धान गरिरहेको बताइएको छ ।




















प्रतिक्रिया