काठमाडौं । शनिवार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेससँग भएको आन्तरिक कुरा सुनाउँदै भने– ‘आउने चुनावमा पहिलो पार्टी त तपाईंहरू नै हुने देखियो । तर माओवादी दोस्रो हुनुपर्छ । त्यसमा सहयोग गर्ने हो भने सबै सहयोग हुन्छ नत्र हुँदैन भनेको छु ।’ संघ र प्रदेशको चुनावमा माओवादी केन्द्र दोस्रो शक्ति बन्ने गरी सहयोग नगरे सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसँगको सहकार्य नै टुटाउने संकेत प्रचण्डको थियो । सिधा अर्थमा भन्ने हो भने माओवादीलाई दोस्रो हुने गरी नसघाए फेरि नेकपा एमालेसँग मिल्ने अनि कांग्रेसलाई २०७४ कै हबिगत बनाइदिने चेतावनीपूर्ण अभिव्यक्ति थियो ।
प्रचण्डका यस्ता बोली र यसैसँग मिल्दाजुल्दा गतिविधिसँग नेपाली राजनीति नियालीरहेका जोकोही पनि परिचित नै छन् भन्दा दुई मत नहोला । नेपाली राजनीतिमा चतुर खेलाडी मानिने प्रचण्डले कांग्रेसलाई चेतावनीयुक्त शैलमा दिएका यो अभिव्यक्तिलाई पनि उनका चतुर्याइँकै रुपमा राजनीतिक विश्लेषकहरु अर्थ्याउँछन् ।
राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बराल प्रचण्डको यो वार्गेनिङ शैली मात्र भएको बताउँछन् । ‘यो प्रचण्डको हार्ड वार्गेनिङ शैली मात्र हो । गठबन्धनको दोस्रो शक्ति म चुनावमा पनि दोस्रो हुनुपर्छ भनेर प्रधानमन्त्रीसँग मोलतोल गरेको मात्र हो माओवादी केन्द्रले । अरु केही होइन’, उनले भने, ‘गठबन्धन गरेर जाँदा एमाले पछि धकेलिन्छ । अनि चुनावपछि म पनि शक्तिका रुपमा आउँछु । पावर शेयरसिङ गर्नुपर्छ भनेर खबरदारी गरेको मात्र हो ।’ अन्ततः माओवादी केन्द्र तेस्रो शक्तिमै सीमित हुने विश्लेषक बरालको आंकलन छ ।
गत ३१ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि अन्तर्घात र गठबन्धनप्रति कांग्रेस इमान्दार नभइदिँदा मात्र पार्टी पछि परेको माओवादीको निष्कर्ष छ । यसबीचमा समाजवादी केन्द्र निर्माणको विषयमा बाक्लै छलफल पनि नभएको होइन । तर एमाले अध्यक्ष केपी आलीप्रति नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको झुकाव, डा. बाबुराम भट्टराई र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको अनिच्छाका कारण समाजवादी केन्द्र निमार्णको च्याप्टर लगभग क्लोज भइसकेको छ ।
कांग्रेससँगै आगामी निर्वाचनमा गठबन्धन गर्ने निष्कर्षमा माओवादी केन्द्र पुगेपनि दोस्रो शक्ति हुन सहयोग नगरे ठिक नहुने प्रचण्डको चेतावनीलाई भने विश्लेषकहरु अराजनीतिक टिप्पणी मान्छन् ।
योसँगै एमाले विनाको समाजवादी केन्द्र निर्माणमा जुटेका सबै नेताहरु आ–आफ्नै लयमा फर्किसकेका छन् । अबको चुनावी गठबन्धन पनि कांग्रेससँगै हुने भनेर प्रचण्डले लिएको ‘यू–टर्न’ले पनि यसलाई पुष्टि गरिदिएको छ । गत बिहीबार (साउन १२) बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले ‘कांग्रेसको विकल्प खोज्नु हुन्न, गठबन्धनभित्रै वामपन्थीहरूको चुनावी उपकेन्द्र बनाउनु पर्ने’ बिफ्रिङ गरिसकेका थिए ।
कांग्रेससँगै आगामी निर्वाचनमा गठबन्धन गर्ने निष्कर्षमा माओवादी केन्द्र पुगेपनि दोस्रो शक्ति हुन सहयोग नगरे ठिक नहुने प्रचण्डको चेतावनीलाई भने विश्लेषकहरु अराजनीतिक टिप्पणी मान्छन् । कुन पार्टी वा उम्मेदवारलाई जिताउने भन्ने कुरा मतदातामा निर्भर रहने भएकाले कसैले यो शक्ति र त्यो शक्ति भनेर दाबी गर्न नहुने राजनीतिक विश्लेषक मुमाराम खनाल बताउँछन् ।
‘कसैले दाबी गर्दैमा हुँदैन । अहिलेसम्मका तथ्यलाई हेर्दा माओवादी केन्द्र कुनै हिसाबले दोस्रो शक्तिका रुपमा उभिने सम्भावना देखिँदैन’, उनी भन्छन्, ‘पपुलर भोटका आधारमा एमाले कांग्रेसको हाराहारी छ । न विजयी उम्मेदवारको हिसाबले न लोकप्रिय मतको हिसाबले । कुन हिसालबे दोस्रो शक्ति दाबी गर्नु ?’
स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष पदमा पाएको मत अनुसार एमाले लोकप्रिय दल बनेको छ । आयोगले सार्वजनिक गरको विवरण अनुसार नगरप्रमुख पदमा एमालेले ३४.५८ प्रतिशत मत पाएको छ भने कांग्रेस ३३.५६ प्रतिशत मत पाउँदै दोस्रो स्थानमा छ । तेस्रो स्थानमै सीमित माओवादी केन्द्रले मात्रै ९.२४ प्रतिशत मत पाएको छ ।
यी तथ्यांकलाई केलाउँदा पनि माओवादी आगामी संसदीय निर्वाचनमा एमालेलाई पछारेर दोस्रो शक्ति बन्ने कुनै सम्भावना देखिँदैन । ‘स्थानीय निर्वाचनमा कांग्रेससँग मिलेर जाँदा माओवादीले जति मत पायो त्यो आशा गरेभन्दा बढी आयो । त्यसैबाट हौसिएर गरिएको दाबी मात्रै हो’, विश्लेषक खनाल भन्छन् ।
उनी थप्दै भन्छन्, ‘अर्को पार्टीले बनाइदिने हो र ? सिट बाँडफाँड हुँदा हिजो विजयी भएको आधार, अहिले पाएको जनमत यस सबैबाटै त हुन्छ । १६५ मा ५ दललाई समानुपातिक ढंगले मिलाउँदा मओवादीले ३५ प्रतिशत भन्दा पाउँदैपाउँदैन । त्यसमा पनि कति जित्ने भन्ने हुन्छ । त्यसो हुनाले यो कुनै हिसाबले तथ्यामा आधारित छैन । र यो सम्भव नै छैन ।’
‘०६४ मा माओवादीले जनयुद्धको रापतापले जितेको हो । अर्को चाहिँ यो नयाँ शक्ति हो, यी लडेर आएका हुन्, यनीहरुले साँच्चै देश बनाउँछन्, भ्रष्टाचार नगर्लान् भनेर जनताले जिएका थिए’, विश्लेषक खनाल भन्छन्, ‘तर अब फेरि माओवादी त्यो पुरानो अवस्थामा फर्किन सम्भव छैन ।’
कुनै पनि दललाई जनमतले शक्तिमा स्थापित गराउने भन्दै कुनै पार्टीलाई बनाइदे भन्नु मतदाताप्रतिको अपमानको रुपमा विश्लेषक खनाल अर्थ्याउँछन् । राजनीतिक एजेन्डा र राजनीतिक कार्यक्रमले जुनसुकै दलले पनि जित्ने आधार तयार पार्न सक्नुपर्ने उनी बताउँछन् ।
त्यसो त माओवादीले १० वर्षे सशस्त्र जनयुद्धमा पूर्णविराम लगाएपछि पहिलो पटक भएको संविधान सभाको निर्वाचनमा पहिलो पार्टी बनेको उदाहरण हाम्रैसामू छ । तर दोस्रो संविधान सभा पश्चात तेस्रो दलमा खुम्चिएको मओवादी अनिश्चित कालका लागि तेस्रो पार्टीमै खुम्चिने निश्चितप्रायः छ ।
०६४ को संविधानसभा निर्वाचनमा माओवादी पहिलो शक्ति बन्नुको पछाडि दुई कारण रहेको विश्लेषक खनाल औल्याउँछन् । ‘०६४ मा माओवादीले जनयुद्धको रापतापले जितेको हो । अर्को चाहिँ यो नयाँ शक्ति हो, यी लडेर आएका हुन्, यनीहरुले साँच्चै देश बनाउँछन्, भ्रष्टाचार नगर्लान् भनेर जनताले जिएका थिए’, उनी भन्छन्, ‘तर अब फेरि माओवादी त्यो पुरानो अवस्थामा फर्किन सम्भव छैन । किन भने शक्तिशाली भएको बेला चाहे व्यक्ति होस् वा पार्टी त्यसै बेला ऊ सुध्रिनु पर्छ । नम्र हुनपर्छ । र त्यसैबेला राम्रा काम गर्नु पर्छ । तर शक्रिशाली भएको बेलामा दम्भ मात्रै देखाउने, भ्रष्टाचार मात्रै गर्ने र अरुलाई हेप्ने मात्रै गर्दा कसरी शक्रिशाली भइरइन्छ ?’
अहिले माओवादीमा दुईवटा वर्ग भइसकेको पनि विश्लेषक खनालले बताए । एउटा पुँजीपाति वर्ग र फाइदा लिने वर्ग अर्को चाहिँ फाइदा नपाउने वर्ग हुँदा अब माओवादी केन्द्र यो भन्दा शक्तिशाली हुनै नसक्ने उनले औंल्याए ।




















प्रतिक्रिया