Logo

रोजगार

चाडपर्वपछि रोजगारी खोज्दै भारत फर्किन थाले सुदूरपश्चिमेली



 

धनगढी।  दसैँ, तिहार र छठ पर्व मनाएर घर फर्किएका सुदूरपश्चिमका नेपाली पुनः रोजगारीका लागि भारत जान थालेका छन्।

कैलालीको त्रिनगर भन्सार नाकाबाट दैनिक करिब ६ हजार नेपाली भारत गइरहेको सशस्त्र प्रहरी बलको सीमा हेल्प डेस्कले जनाएको छ।

डोटीको आदर्श गाउँपालिकाका रमेशबहादुर साउद चाडपर्व मनाएर मुम्बई फर्किंदै छन्। उनी त्यहाँको एक होटलमा भान्सेको काम गर्छन्। नेपालमा रोजगारीको अवसर कम हुनु र आम्दानीले परिवारको खर्च धान्न कठिन हुने भएकाले भारत जानुपरेको उनले बताए।

त्यस्तै, कैलालीको गोदावरीका हरि नेपाली पनि दसैँ मनाएर रोजगारीका लागि गुजरातको सुरत जाँदै छन्।

सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्लाका बासिन्दा रोजगारीका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागढ, नासिक र पञ्जाबलगायत सहर पुग्ने गरेका छन्। खेतीपाती गर्नेहरू बाली भित्र्याएपछि भारत जाने र केही समय काम गरेर फर्किने गर्छन्।

भारत जान भिसा आवश्यक नपर्ने र रोजगारी पाउन तुलनात्मक रूपमा सहज हुने भएकाले पनि नेपाली श्रमिकको भारत जाने क्रम वर्षौंदेखि जारी छ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आईतवार २१:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।