काठमाडौं । संघीय संसद्का दुवै सदनबाट पारित भइ प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ राष्ट्रपति कार्यालयमै अड्किएको छ । नागरिकता वितरणसम्बन्धी खुकुलो प्रावधान राखिएको यो यो विधेयक प्रमुख प्रतिपक्ष नेकपा एमालेको विरोधका बाबजुद प्रतिनिधिसभाबाट ६ साउनमा र राष्ट्रियसभाबाट १२ साउनमा पारित भएको थियो ।
दुवै सदनबाट पारित भइसकेपछि सभामुख अग्नि सापकोटाले आइतवार (साउन १५) प्रमाणिकरण गरेर राष्ट्रपति कहाँ पठाएका छन् । संसद्बाट पारित भएर पुगेका अन्य विधेयक तत्काल प्रमाणिकरण गर्ने राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे भने आफूकहाँ आइपुगेको झन्डै एक हप्ता हुन लाग्दा पनि प्रमाणिकरण गरेकी छैनन्, जसकारण पनि यसप्रति सर्वत्र चासो बढेको छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार अहिले नागरिकता विधेयक अध्ययन भइरहेको छ । ‘केही दिन अघि विधेयक आइपुगेको छ’, राष्ट्रपति कार्यालय स्रोतले अनलाइनपालाई भन्यो, ‘अहिले अध्ययनको काम भइरहेको छ ।’
संविधानअनुसार राष्ट्रपतिले आफूकहाँ आएको विधेयकबारे १५ दिनभित्र निर्णय लिइसक्नु पर्छ । ‘संघीय संसदबाट प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्नेछ’, संविधानको धारा ११३ (२) मा भनिएको छ । तर, अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा यही १५ दिनभित्र फिर्ता पठाउन पनि सक्ने संवैधानिक व्यवस्था छ ।
पुनः दुवै सदनले त्यो विधेयक पहिलेकै रुपमा वा संशोधन गरेर फेरि राष्ट्रपति कार्यालयमा पठाउन सक्छन् । दोस्रो पटक प्रमाणीकरणका लागि पेश भएको विधेयक फिर्ता गर्ने सुविधा भने संविधानले राष्ट्रपतिलाई दिएको छैन ।
संविधानको धारा ११३ (३) मा ‘अर्थ विधेयकबाहेक अरु विधेयकमाथि पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक १५ दिनभित्र सन्देशसहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउनुपर्नेछ’ भनिएको छ । संविधानमा ‘राष्ट्रपतिलाई पुनर्विचार हुनुपर्नेछ भन्ने लागेमा’ भन्ने व्यवस्था भएकाले आफ्नै स्वविवेकमा एक पटकका लागि विधेयक फिर्ता गर्नसक्ने देखिन्छ ।
त्यसरी सन्देशसहित फिर्ता भएको विधेयकमाथि प्रतिनिधिसभा र राष्ट्रिसभामा छलफल हुनुपर्ने व्यवस्था छ । त्यसपछि पुनः दुवै सदनले त्यो विधेयक पहिलेकै रुपमा वा संशोधन गरेर फेरि राष्ट्रपति कार्यालयमा पठाउन सक्छन् । दोस्रो पटक प्रमाणीकरणका लागि पेश भएको विधेयक फिर्ता गर्ने सुविधा भने संविधानले राष्ट्रपतिलाई दिएको छैन । ‘दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधन सहित पारित गरी पुनः पेश गरेमा १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ’, संविधानको धारा ११३ (४) मा भनिएको छ ।

दोस्रो चरणको प्रक्रिया जेजस्तो भएपनि अहिले भने राष्ट्रपति यो विधेयक फिर्ता गदिदिए हुन्थ्यो भन्ने प्रमुख विपक्षी एमालेको चाहना छ । प्रतिनिधिसभामा छलफलका क्रममा एमलेसहितका ४५ सांसदले ९४ संशोधन प्रस्ताव दर्ता गरएको थिए । गृहमन्त्री बालकृष्ण खाणको जावाफपछि सत्तापक्षका सांसदले संशोधन प्रस्ताव फिर्ता लिए पनि विपक्षी सांसदले फिर्ता लिएनन् । त्यसलाई अस्वीकार गरेर सदनबाट नागरिकता विधेयक पारित गरिएको हो । मुलुकको हितविपरित नागरिकता विधेयक पारित गरिएको भन्दै एमालेका नेताहरुले सरकारको चर्को आलोचना गर्दै आएका छन् ।
नागरिकता विधेयक फिर्ता हुनु पर्ने भन्दै कतिपय साना दल तथा युवाहरुले आन्दोलन नै चर्काएका छन् । अब अन्तिम गाँठो फुकाउने अभिभारा बोकेकी राष्ट्रपति भण्डारीले तत्कालीन राजा वीरेन्द्रले गरेका हिम्मत गर्नुपर्ने बताउँदै आएका छन् ।
तत्कालिन अवस्थामा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला यसै गरी संसदले अर्थ विधेयकको रुपमा नागरिकताको बिषय समेटेर ल्याएपछि राजा वीरेन्द्रले रोकेको स्मरण गराउँदै राष्ट्रपति भण्डारीसँग यो रोकिदिन अनुरोध गरेका छन् । गिरिजा प्रधानमन्त्री भएका बेला सरकारले अर्थ विधेयकको रुपमा ल्याएर प्रमाणीकरणका लागी पठाइएको विधेयकलाई राजा वीरेन्द्रले रायका लागी सर्वोच्च अदालत समक्ष पठाइदिएका थिए । सर्वोच्चले यसरी ल्याउन मिल्दैन भनेर फैसला गरिदिएपछि विधेयक रोकिएको थियो ।
नागरिकता विधेयकले समेटेका मुख्य विषय
पहिलो : जन्मको आधारमा नागरिकता पाएकाहरूको विषय यस विधेयकले सम्बोधन गरेको छ । २०७२ सालमा संविधान जारी हुनुभन्दा पहिले नेपाल सरकारले जन्मका आधारमा नागरिकता जारी गरेको थियो । उनीहरूका सन्तानले नागरिकता पाउने विषय संघीय कानुन बमोजिम सम्बोधन हुने संविधानमा उल्लेख छ । संघीय कानुन नबन्दा जन्मका आधारमा नागरिकता पाएका सन्तानहरुले नागरिकता पाउन सकिरहेका छैनन् । नागरिकता विधेयकले यो विषयलाई सम्बोधन गरेको छ । जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानका बाबु र आमा दुवै नेपालको नागरिक रहेको अवस्थामा १६ वर्ष उमेर पुगेका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्था विधेयकमा छ ।
अब अन्तिम गाँठो फुकाउने अभिभारा बोकेकी राष्ट्रपति भण्डारीले तत्कालीन राजा वीरेन्द्रले गरेका हिम्मत गर्नुपर्ने बताउँदै आएका छन् ।
दोस्रो : नेपालको संविधानले आमाको नामबाट नागरिकता जारी हुने भनेको छ । तर, संविधानअनुसार संघीय कानुन नबन्दा यो संवैधानिक व्यवस्था कार्यान्वयनमा आउन सकिरहेको छैन । विधेयकले यो विषयलाई सम्बोधन गरेको छ । यस नागरिकता विधेयक ऐनका रुपमा लागू भएपछि नेपाली आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजका आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ । तर, यसका लागि निवेदक आमाले ‘स्वघोषणा’ गर्नुपर्ने भनिएको छ ।
तेस्रो : यस विधेयकअनुसार अब गैरआवासीय नेपाली (एनआरएन)ले पनि नेपाली नागरिकता पाउने छन् । नागरिकता पाउनुपर्ने एनआरएनहरुको मागलाई सम्बोधन गर्ने विषय विधेयकमा छ । विधेयकअनुसार राजनीतिक र प्रशासनिक अधिकारबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकता जारी हुने विषय विधेयकमा छ ।
प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ विचाराधीन रहेको यो नागरिकता विधेयक अनुसार करिब ११ लाखले नागरिकले नागरिकता पाउने दाबी गरिएको छ । महिला कानुन विकास मन्च (एफडब्लूएलडी)ले गरेको अध्ययनले सो दाबी गरेको हो ।




















प्रतिक्रिया